१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

भोटसँगै चुनावमा खर्च गर्ने चन्दा पनि दिन्छन् मतदाता

भक्तपुरमा मतदातासँग स्वेच्छिक चन्दा संकलन गर्दै नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता।

निर्वाचनका बेला मतदातालाई पैसा बाँडिने चर्चा सामान्यजस्तै सुनिन्छ। तर भक्तपुरमा भने फरक दृश्य देखिन्छ, यहाँ मतदाता आफैंले मत पनि दिन्छन्, सकेको आर्थिक सहयोग (चन्दा) पनि गर्छन्। यो चलन नयाँ होइन, वर्षौंदेखि चल्दै आएको अभ्यास हो। यहाँ मतको साटो पैसा लिने होइन, उल्टै सहयोग गर्ने परम्परा छ।

विशेषगरी भक्तपुर नगर क्षेत्रमा चुनावअघि घरघरबाट चन्दा संकलन गरिन्छ। उम्मेदवार मत माग्न जाँदा चन्दा पनि माग्छन्, र मतदाताले गच्छेअनुसार सहयोग गर्छन्।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय सचिव तथा भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालका अनुसार सर्वसाधारणबाट संकलित चन्दा नै चुनाव खर्चको मुख्य आधार हो। निर्वाचनअघि केन्द्रीय निर्वाचन परिचालन समितिले चन्दाका लागि रसिद् प्याड छापेर जिल्लामा वितरण गर्छ। सोही रसिदका आधारमा कार्यकर्ताले चन्दा संकलन गर्छन्।

निर्वाचन सकिएको एक महिनाभित्र कति चन्दा उठ्यो र कति खर्च भयो भन्ने विवरण सार्वजनिक गरिने उनले बताएका छन्। पार्टीको आम्दानी र खर्च पार्टीले नै व्यवस्थापन गर्ने, उम्मेदवारले व्यक्तिगत खर्च नगर्ने दाबी छ। यही कारण निर्वाचन आयोगमा उम्मेदवारको खर्च विवरण पठाउँदा खर्च ‘शून्य’ उल्लेख गर्ने गरिएको अनुभव सुनाइएको छ।

भक्तपुर नगरमा चन्दा संकलनमा संलग्न कार्यकर्ता रामसुन्दर बासीका अनुसार घरघर पुगेर स्वेच्छिक सहयोग लिइन्छ। न्यूनतम १० रुपैयाँदेखि सय, डेढ सय र एक हजार रुपैयाँसम्म सहयोग गर्ने मतदाता छन्। ठूला व्यापारीसँग दबाबमा चन्दा उठाउने नभई सर्वसाधारणबाट सानो–सानो रकम संकलन गर्ने नीति रहेको उनको भनाइ छ।

अर्का कार्यकर्ता विकुराम तजलेका अनुसार चुनावअघि प्रायः सबै नगरबासीसँग चन्दा माग्न जाँदा धेरैले सकेको सहयोग गर्छन्। सहयोग गर्नेले भोट पनि हाल्ने विश्वास रहेको उनी बताउँछन्।

यस विषयमा स्थानीय समुदाय विभाजित छ। विपक्षी धारले यसलाई सोझासिधा जनतामाथिको अन्याय भन्छ भने समर्थकले पार्टीप्रतिको आस्था र सिद्धान्तप्रतिको प्रतिबद्धताको परिणाम ठान्छन्। ठूला दलले ठूला व्यापारीसँग अदृश्य चन्दा लिँदा नेमकिपाले सर्वसाधारणबाट सानो रकम संकलन गरी पारदर्शिता देखाएको दाबी समर्थकहरूको छ।

स्थानीय नेताहरूका अनुसार चन्दा पूर्ण रूपमा स्वेच्छिक हो। कसैलाई बाध्य नपारिएको दाबी गरिन्छ। विश्लेषकका भनाइमा सानो भूगोल र घनिष्ठ सामाजिक सम्बन्ध भएको भक्तपुरमा चुनावी खर्च व्यवस्थापनका लागि प्रत्यक्ष जनसहयोगमा निर्भर हुने परम्परा पुरानै हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधि निर्वाचनको माहोलसँगै घरदैलो, टोलसभा र कोणसभा कार्यक्रम तीव्र छन्। भोट माग्ने र चन्दा संकलन गर्ने गतिविधि सँगसँगै चलिरहेको छ।

निर्वाचन आचारसंहिताअनुसार उम्मेदवार वा दलले आर्थिक स्रोत पारदर्शी ढंगले परिचालन गर्नुपर्छ। निर्वाचन आयोग नेपालले निर्वाचन अवधिमा चन्दा संकलन गर्दा स्वेच्छिक, पारदर्शी र लेखाजोखा सहित हुनुपर्ने व्यवस्था गरेको छ।

 

प्रकाशित: ११ फाल्गुन २०८२ १९:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App