coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता कायमै

त्रियुगा नगरपालिका कार्यालय।

सदरमुकाम त्रियुगा नगरपालिकाको मेयर उम्मेदवारमा अहिलेसम्मको गणनामा नेपाली कांग्रेसले नेकपा (एमाले) र गठबन्धनभन्दा फराकिलो अन्तरले अग्रता लिदैछ।

कांग्रेसका उम्मेदवार बसन्त बस्नेतले एमाले उम्मेदवार भागवत राउतलाई १ हजार ९ सय ४८ को मतान्तरले पछाडि पारिरहेका छन्। बस्नेतलाई ९ हजार ३ सय ८२ मत पर्दा एमालेका राउतले ७ हजार ४ सय ३४ मत पाइरहेका छन्।

त्यस्तै गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का बलदेव चौधरीलाई ६ हजार ८ सय १२ मत परिरहेको निर्वाचन अधिकृतको कार्याययले जनाएको छ। उपमेयरतर्फ कांग्रेसकै सरिता राईले ८ हजार ४ सय ३ मत पाउँदा एमालेकी महेश्वरी राईले ८ हजार १ सय ९० मत पाइरहेकी छिन्।

कांग्रेस २ सय १० ले एमालेभन्दा अगाडि रहँदा गठबन्धन उम्मेदवार नेकपा माओवादी केन्द्री गीता खड्का कार्कीलाई ५ हजार १ सय ८० मत परिरहेको छ। उदयपुरको सबभन्दा ठूलो र महत्वपूर्ण नगरपालिका त्रियुगामा २० हजार ८५ महिलासहित ३८ हजार ४ सय ५ मत खसेमध्ये २७ हजार १ सय ७५ मत गणना भइसकेको छ।

त्यहाँको कुल मत संख्या ६० हजार ४६ हो। हालसम्म १, २, ३, ४, ५, १३, १४, १५ र १६ नं. वडाको मत परिणाम सार्वजनिक भइसकेको छ भने अहिले ६, ७, ८ र ९ नंं को गणना हुँदैछ। परिणाम घोषणा भइसकेका वडाहरुमध्ये कांग्रेसले १, ३, ४, ५ र १३ मा वडाध्यक्ष जित्दा माओवादीले १४, १५ र १६ नं. मा जितिरहेको छ।

एमालेले २ न. मा वडाध्यक्ष जितेको छ। १ मा मनोज चौधरी, २ मा घमानसिंह खत्री, ३ मा तिलक कटुवाल, ४ मा बद्री बस्नेत, ५ मा उद्धव थापा वडाध्यक्ष जितेका छन्। त्यस्तै १३ मा नविन चौधरी, १४ मा हिमराज मगर, १५ मा गणेश तिम्सिना र १६ मा मानबहादुर राई वडाध्यक्ष निर्वाचित भएका छन्।

निर्वाचित वडाध्यक्षमध्ये १ का चौधरी, २ का खत्री, ५ का थापा र १६ का राई दोहोरिएका हुन्। यसअघि वडाध्यक्ष भएर यसपटक दोहोरिन खोज्ने ३ नं. का अवधेश, ४ का सुबास निरौला र १३ की पशुपति भने पराजित भए। पहिले एमालेबाट विजयी भए पनि यसपटक पराजित ३ नं. वडाध्यक्ष अवधेश र १३ नं. की पशुपति एकीकृत समाजवादीबाट उठेका थिए भने ४ का निरौला एमालेबाटै उठे पवनि पराजित भए।

१६ वटा वडा रहेको त्रियुगाका घना बस्ती रहेको सदरमुकाम गाईघाट र बोक्से समेटिएका १०, ११ र १२ नं. तथा ९ को मत गणना भने बाँकी रहेको छ। शनिबार रातिसम्ममा १० नं. वडाको मत गणना हुने अनुमान गरिएको छ। यता वैशाख ३० गते मतदान हुँदाहुँदै बिवाद भएर रोकिएको १२ नंं को मत भने गन्ने कि पुनः गणना गर्ने भन्ने यकिन नभइसकेको अवस्था छ।

मतदान केन्द्रमा भएको बिवादपछि दिउँसो ४ः३० बजे मतदान स्थगित भएको सूचना निर्वाचन अधिकृतले निकालेकोमा नर्वाचन आयोगको निर्देशनपछि ११ दिनपछि मतगणना थालिएको थियो। असन्तुष्ट पक्षहरुले भने पुनः मतदान गर्नुपर्ने जिकिर गर्दै सर्वोच्च अदालत र उच्च अदालत बिराटनगरमा छुट्टाछुट्टै रिट हालेका छन्।

एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार बलदेव चौधरीले पुनः मतदान गर्नुपर्ने भन्दै सर्वोच्च गुहारेका छन् भने प्रदेश सांसद सुनिताकुमारी चौधरीले उच्च अदालत गुहारेकी छिन्। उनीहरुको रिटमाथि सुनुवाई नहुँदै निर्वाचन आयोगले गणना गर्न निर्देशन दिएपछि मत गन्न थालिएको हो।

प्रकाशित: १४ जेष्ठ २०७९ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App