२० मंसिर २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

सुनसरीमा राजनीतिक दलहरुले अपेक्षा गरे अनुसार नतिजामा सुधार गर्न सकेनन्

पहिलो र दोस्रो संविधानसभा निर्वाचनबाहेक संसदीय निर्वाचनमा काँग्रेसको वर्चस्व रहँदै आएको सुनसरीमा नेपाली काँग्रेसले यसपटकको स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकासहित सात प्रमुख पदमा जितेको छ। काँग्रेसले छ वटा उपप्रमुख जितेको छ। एमालेले यसपटक तीन प्रमुख र पाँच उपप्रमुख जितेको छ।  

नेपाली काँग्रेसले यसपटक इटहरी उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा पहिलोपल्ट मेयर पद जितेको छ। इटहरीमा गठबन्धनको साहयताले काँग्रेसका हेमकर्ण पौडेलले मेयर जितेका हुन्। सदरमुकाम इनरुवामा केदार भण्डारी, दुहवीमा वेद गच्छदार र बराहक्षेत्र रमेश कार्की मेयरमा विजयी भएका छन्।  

गाउँपालिकातर्फ काँग्रेसका हरिनगर र कोशीमा दोस्रोपटक क्रमशः गफार अनसारी र अयूव अन्सारी विजयी भए। यस्तै, भोक्राहा नरसिंहमा पनि काँग्रेसका अध्यक्षमा अजमल अख्तर मियाँ विजयी भए।  

नेपाली काँग्रेसले नगरपालिकाको उपमेयरमा दुहवीमा मेनुका पोखरेल र इनरुवामा विनिताकुमारी मेहता विजयी भएकी छन्। यस्तै, गाउँपालिकातर्फ उपाध्यक्षमा हरिनगर र कोशीमा दोस्रोपटक क्रमशः रिमझिम भगत र अनितादेवी यादव दोहोर्‍याएका छन्। यस्तै, देवानगञ्जमा कुमारी विभा यादव र भोक्राहा नरसिंहमा सुनिताकुमारी यादव विजयी भएकी छन्। नेपाली काँग्रेसले २०७४ सालको निर्वाचनमा जितेका रामधुनी नगरपालिकाको मेयर, गढी र बर्जु गाउँपालिकाको प्रमुख र उपप्रमुख यसपटक गुमाएको छ। देवानगञ्ज गाउँपालिकाको प्रमुख पद पनि काँग्रेसले यसपटक गुमाएको छ।  

२०७४ सालको निर्वाचनमा काँग्रेसले शुरुमा छ प्रमुख र पाँच उपप्रमुख जितेको थियो। धरानमा २०७६ मंसिरमा भएको निर्वाचन र नेता विजयकुमार गच्छदार काँग्रेसमा फर्किएपछि त्यसै पार्टीबाट विजयी भएका प्रतिनिधि समेत काँग्रेसमै समायोजन हुँदा नौ जना प्रमुख र सात जना उपप्रमुख भएका थिए।  

काँग्रेसले अघिल्लो चुनावको तुलनामा उल्लेखीय सफलता हात पार्न नसकेतापनि इटहरी उपमहानगरपालिकामा र बराहक्षेत्र नगरपालिकामा पहिलोपल्ट नेतृत्व हात पार्नु उपलब्धी भएको जिल्ला सचिव विरेन्द्र साहले बताए। ‘अघिल्लोभन्दा धेरै सफलता हासिल हुने अपेक्षा गरिएको थियो। तर, सोचे अनुसार नभएता पनि समग्रमा अहिलेको नतिजा फलदायी नै छ,’ उनले भने, ‘टिकट वितरण अन्तिम समयमा हत्तारमा गर्दा कतिपय स्थानमा सही उम्मेदवार छनोट हुन नसक्नु र नेताहरुले गुटगत आधारमा उम्मेदवार छनोट गर्दा पनि अपेक्षाकृत नतिजा आउन समस्या भयो।’  

एमालेले यसपटक प्रमुखमा एक नगरपालिका रामधुनीमा शंकर चौधरी र दुई गाउँपालिका गढी र बर्जुमा क्रमशः आशनारायण चौधरी र जिवछकुमार राय विजयी भए।  

एमालेबाट यसपटक इटहरी उपमहानगरपालिका उपप्रमुख संगीता चौधरी विजयी भइन्। रामधुनी र बराहक्षेत्र नगरपालिकामा क्रमशः तारा थापा र नन्दकुमारी सुनुवार विजयी भए। यस्तै, गाउँपालिकातर्फ गढीमा अनिताकुमारी साह र बर्जुमा नितुकुमारी चौधरी विजयी भइन्। २०७४ सालमा एमालेबाट प्रमुखमा शुरुवातमा तीन र उपनिर्वाचनपछि दुई जना मात्र सीमित भएको थियो। उपप्रमुखमा तीन जना बिययी भएका थिए।  

एमालेबाट २०७४ सालमा जितेको इटहरी उपमहानगरपालिका प्रमुख, धरान उपमहानगरपालिका उपप्रमुख र बराह नगरपालिका प्रमुख यसपटक गुमाएको छ। एमाले सुनसरी जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले पनि एमालेले अपेक्षा गरे अनुसार नजिता प्राप्त गर्न नसकेको बताए। ‘पाँच दलीय गठबन्धन र कतिपय स्थानमा जनतामा फरक खाले सोचले गर्दा केही समस्या भयो,’ उनले भने, ‘तर, समग्रमा एमाले सुनसरीमा कमजोर छैन, मत संख्या अघिल्लो पटकभन्दा बढेको छ।’ इटहरीमै १४ वटा वडा र  उपमेयर जित्दा मेयर जित्न नसक्नु समीक्षाको विषय हुने बताए।  

धरान उपमहानगरपालिकामा यसपटक सामाजिक अभियन्ता हर्क साम्पाङ् स्वतन्त्र मेयर पदका उम्मेदवार विजयी हुन सफल भए। उनले चार दलीय गठबन्धनका उम्मेदवार किशोर राईभन्दा चार हजार ७६२ मत बढी ल्याएर विजयी भएका हुन्। साम्पाङ्ले २० हजार ८२१ मत ल्याए। गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार काँग्रेसका किशोर राईले १६ हजार ५९ मत पाए। एमालेकी मञ्जु भण्डारी त तेस्रो पोजिसनमा पुगिन्। उनले १२ हजार ८२५ मत पाइन्।  

धरानमै उपप्रमुख पदमा माओवादी केन्द्रका तर्फबाट आइन्द्र विक्रम विघा विजयी भएर जिल्लामै पहिलोपल्ट उपमेयर पद प्राप्त गरेको इतिहास बनाएका छन्। उनी गठबन्धन दलको साहयताले उपमेयर जित्न सफल भएका हुन्। उनी २०७४ सालको निर्वाचनमा धरानबाट माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार थिए।

माओवादी केन्द्र १ नं. प्रदेश समितिका उपाध्यक्ष शिव डागीले सुनसरी जिल्लाभरको नतिजा माओवादीका लागि सन्तोषजनक नभएर सामान्य नै भएको प्रतिक्रिया दिए। ‘धरानमा उपमहानगरपालिकाको उपमेयर जित्नु सकारात्मक भएतापनि रामधुनीमा काँग्रेससँग तालमेल गर्न नसक्दा र बराहक्षेत्रमा माओवादीबीचमै अन्तरकलह हुँदा माओवादी उपप्रमुखले हार बेर्होनु पर्‍यो,’ उनले भने, ‘माओवादीको उपस्थिती चाँहि सबै स्थानमा रह्यो।’ सुनसरीमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच इटहरी, धरान तथा बराहक्षेत्रमा मात्र तालमेल हुन पुगेको थियो। धरानमा पनि मेयर र उपमेयरमा मात्र तालमेल थियो, अरु वडामा भने तालमेल थिएन्।  

यसपटकको निर्वाचनमा जनता समाजवादी पार्टीका तर्फबाट देवानगञ्ज गाउँपालिका प्रमुख पदमा वेचनप्रसाद मेहता विजयी भएका छन्। २०७४ सालको निर्वाचनमा तत्कालीन समयमा उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरमबाट अध्यक्ष र उपाध्यक्ष दुवै पदमा भोक्राहा नरसिंह गाउँपालिकाबाट विजयी भएका थिए।  

प्रमुख र उपप्रमुखबाहेक जिल्लाभरका वडामध्ये सवैभन्दा बढी ५४ वटा यसपटक एमालेले जितेको छ। नेपाली काँग्रेसले ५१ वटा वडा जितेको छ। यस्तै, जनता समाजवादी पार्टीले सातवटा, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार, एकीकृत समाजवादी पार्टीले तीन, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले दुई/दुई वटा वडा जितेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीले एउटा वडा जितेको छ।  

सुनसरीमा यसपटक राजनीतिक दलहरुभित्र गुटबन्दी मौलाएको, उम्मेदवार छनोटमा राम्राभन्दा पनि आफ्ना रोजेको र असन्तुष्ट भएका कार्यकर्तालाई सम्हाल्न नसक्दा अपेक्षाकृत नतिजा सुधार सकेनन्। तरपनि जिल्लामा क्रियाशील राजनीतिक दलहरुको २०७४ सालको नतिजासँग तुलना गर्दा यसपटक निरासाजनक नतिजा नभई सन्तोषजनक रहेको छ।

प्रकाशित: ८ जेष्ठ २०७९ १२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App