बाँकेको स्थानीय तहमा नेपाली कांग्रेसले खाता खोलेको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका कांग्रेस निर्वाचित भएको हो।
बाँकेका ८ स्थानीय तहमध्ये राप्ती सोनारी गाउँपालिकामा मात्र मतगणना सम्पन्न भएको छ। जिल्लाका अन्य ७ वटा स्थानीय तहको भने मतगणना चलिरहेको छ।
राप्ती सोनारीको अध्यक्षमा कांग्रेसका तप्तबहादुर पौडेल निर्वाचित भएका हुन्। नेकपा (माओवादी केन्द्र)का पट्टु थारुलाई ८ सय २० मतको अन्तरले हराउदै उनी निर्वाचित भएका हुन्। उनले १० हजार १ सय १२ मत प्राप्त गरे। उनका निकटम प्रतिद्वन्द्वी थारुले ९ हजार २ सय ९२ मत प्राप्त गरेका छन्। नेकपा एमालेका रामदास थारुले ९ हजार १ सय ४० मत प्राप्त गरे।
यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी मनिषा सिंह थारु निर्वाचित भइन् । उनले नेकपा एमालेकी चमेली वागवानलाई ७ सय ८६ मतको अन्तरले पराजित गरिन्। मनिषाले १० हजार १ सय ३४ मत प्राप्त गरेकी छन्। उनकी निकटम प्रतिद्वन्द्वी वागवानले ९ हजार ३ सय ४१ मत प्राप्त गरेकी छन्। त्यस्तै माओवादी केन्द्रकी मञ्जु रोकायले ८ हजार ७ सय ९३ मत प्राप्त गरिन्।
राप्ती सोनारीमा कुल ३२ हजार ९ सय ६६ मत खसेको थियो। कुल ९ वटा वडा रहेको उक्त गाउँपालिकामा कांग्रेसले कुनैपनि वडाअध्यक्ष र वडासदस्य जित्न सकेन। उक्त गाउँपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ मा नेकपा एमालेले जितेको छ।
यस्तै वडा नम्बर ४, ५ र ७ मा नेकपा माओवादी केन्द्र तथा वडा नम्बर ६ मा राप्रपा निर्वाचित भएको छ । यसअघि २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले उक्त गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित ५ वडा वडा जितेको थियो। बाँकेका ८१ वटा वडामध्ये मंगलबार बेलुकासम्म ३६ वटाको मत परिणाम सार्वजनिक भइसकेको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए।
प्रकाशित: ३ जेष्ठ २०७९ १४:३९ मंगलबार





