इलामको माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का हेमन्त राई विजयी भएका छन्। अध्यक्षमा हेमन्तले गाउँपालिकाका निवर्तमान अध्यक्ष गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डिकेन्द्र इदिंगोलाई ३ सय २३ मतले पराजित गरेका छन्।
हेमन्त ३ हजार ८ सय १८ मत ल्याएर विजयी बने भने डिकेन्द्रले ३ हजार ४ सय ९५ मत ल्याएका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा डिकेन्द्रले हेमन्तलाई अध्यक्षमा पराजित गरेका थिए। डिकेन्द्र नेपाली कांग्रेसको क्षेत्रीय सभापति हुन् भने हेमन्त एमालेको गाउँ कमिटी अध्यक्ष हुन्।
गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का विनोद नेम्बाङ विजयी भए। नेम्बाङले गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष सुनिता सुब्बालाई ६ सय ८३ मतले पराजित गरेका छन्। नेम्बाङले ३ हजार ७ सय २९ र सुब्बाले ३ हजार ४६ मत पाए। २०७४ सालको स्थानीय तह निर्वाचनमा सुनिताले नै विनोदलाई पराजित गरेकी थिइन्।
१२ हजार ५ सय ६८ मतदाता रहेको माङ्सेबुङमा ८ हजार ३ सय ७ मत खसेको थियो। माङ्सेबुङका ६ वटा वडामध्ये वडा १ र ३ मा नेकपा (माओवादी केन्द्र)का वडाध्यक्षसहित मिश्रित परिणाम आएको छ। वडा २, ४ र ६ मा एमालेले प्यानल नै जितेको छ भने वडा ५ मा राष्ट्रिय जनमुक्ति पार्टीले प्यानल जितेको छ।
प्रकाशित: २ जेष्ठ २०७९ ०१:१८ सोमबार



-600x400.jpg)

