४ पुस २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

कलम चिह्नबाट माओवादी उम्मेदवारको जित

उम्मेदवार माओवादीको, चुनाव चिह्न समाजवादीको! पार्टी राजनीतिमा कहिलेकाँही नेताहरुले यस्तै नियती भोग्नुपर्ने रहेछ। चौतारा साँगाचोकगढी नगरपालिका–१ को वडाध्यक्षमा एकीकृत समाजवादीको कलम चिह्न लिएर चुनावी मैदानमा उत्रिएका माओवादी उम्मेदवार युवलाल श्रेष्ठ निर्वाचित भएका छन्।  

उनको प्यानलै वडामा विजयी भयो। उनले ६ सय ८५ मत पाए। उनका निकटतम प्रतिस्पर्धी एमालेका सानुकान्छा श्रेष्ठ २३ मतले पछाडि पर्दै पराजित भए। श्रेष्ठ निवर्तमान अध्यक्ष पनि हुन्। गएको स्थानीय तह निर्वाचनमा दुबै चुनावी मैदानमा थिए। श्रेष्ठ एमाले र युवलाल माओवादीबाट वडाध्यक्षको उम्मेदवार थिए। श्रेष्ठ विजयी हुँदा युवलाल पराजित भए। तर यो पटक कलम चिह्नबाट विजयी भएर युवलालले बदला लिए।  

अघिल्लो पटक पराजित भएको हुँदा युवलाल यो पटक पनि माओवादीबाट अध्यक्षको आकांक्षी थिए । पार्टीले समाजवादीसँग गठबन्धन गरेपछि यो वडा उसकै भागमा पर्‍यो। एक्लै लड्दा जितिने वडा समाजवादीलाई दिएको भन्दै माओवादीमा तीव्र असन्तुष्टि थियो। यो असन्तुष्टि उम्मेदवार मनोनयन दर्ताको दिन चौतारा नगरपालिकाको कार्यालयमा आँधी भएर प्रकट भयो।  

उनीहरुले मनोनयन दर्तामा अवरोध सिर्जना गरे। नेतामाथि हातपात गरे। ढुंगामुढाको वर्षा भयो । नगर कार्यालय क्षणभरमै रणभूमिमा बदलियो। यसको नेतृत्व युवलालले नै गरेका थिए। उनीहरुलाई नियन्त्रणमा दिल अश्रुग्यास प्रहार गर्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नु परेको थियो । कार्यकर्ताको असन्तुष्टि मथ्थर नहुने देखेपछि उम्मेदवार दिन नगरको कार्यालय पुगेका नेताहरुले आकस्मिक बैठक गरे। 

बैठकले उपाय सुझायो, अध्यक्ष माओवादीलाई नै दिएर समाजवादीको कलम चिह्नबाट उठ्ने। गठबन्धन बनाउँदा यो वडा समाजवादीको भागमा परेकाले नेताहरुले यो जुक्ती निकालेका थिए। समाजवादीबाट अध्यक्ष उम्मेदवारी दिन आएका रामशरण अधिकारी अन्तिम समयमा पछाडि हटेर सदस्यमा झरे। वडाध्यक्ष युवलाल श्रेष्ठसहित उनी पनि निर्वाचित भएका छन्।

प्रकाशित: १ जेष्ठ २०७९ १६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App