coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

रम्भामा पुनः मतगणना हुन सकेन, मतदानको माग!

पाल्पाको रम्भा गाउँपालिकामा मतगणना स्थगित भएको छ। मतगणनाका क्रममा ट्याली गर्ने क्रममा दलका प्रतिनिधि र कर्मचारीको तथ्यांकमा एकरूपमा नभएपछि मतगणना स्थगित भएको रम्भा गाउँपालिका निर्वाचन अधिकृत कृष्ण प्रसाद भण्डारीले बताए।  

रम्भा गाउँपालिका निर्वाचन अधिकृत भण्डारीले दलहरू बीचको सहमति नभएसम्मका लागि मतगणना स्थगित गरेको बताए। उनी भन्छन्, मत बढी देखियो, एकरूपता हुन सकेन। हामी सहमत हुन सक्दैनौं। यस्तो तथ्यांक हुँदैन भनेर उम्मेदवारका प्रतिनिधिहरू बाहिरिनुभयो। पूनः मतगणना हुनुपर्छ भन्ने कुरा आयो। हामीलाइ अपमानित गरियो। हामीलाइ असुरक्षा पनि भयो।

गठबन्धन दलहरूले सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका छन्। गठबन्धन दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै मतगणना गर्ने क्रममा ७४ फर्जी मत भेटिएको भन्दै पुनः मतदानको माग गरेका हुन्।

रम्भा गाउँपालिकाका नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी र मंगोल नेशनल अर्गनाइजेसनले विज्ञप्ति जारी गर्दै वडा ५ ताहुँको मतगणना गर्ने क्रममा ७४ मत फर्जी भेटिएको बताएका छन्। चार दलका प्रतिनिधिहरूद्वारा हस्ताक्षरित विज्ञप्तीमा मतपेटिका ढुवानी गर्ने क्रममा गठबन्धन दलका प्रतिनिधिहरू सहभागी नगराइएको, आवश्यक बिजुलीबत्तीको वैकल्पिक व्यवस्था नगरिएको, मतगणना स्थगित भइसकेपछि पनि दलका प्रतिनिधि नराखिएको, एक पक्षीय व्यक्तिहरूलाई प्रवेश दिइएको जस्ता आरोप लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘मतगणना कार्यमा संलग्न कर्मचारीहरूलाई नियमानुसार. विभागीय कारवाही तथा पुनः मतदानका लागि माग गर्दै हालसम्म सार्वजनिक नतिजाप्रति असहमति रहेको व्यहोरा जानकारी गराउँदछौं।’ रम्भा गाउँपालिकाको मतगणना शनिबारदेखि नै रोकिएको हो। रम्भा गाउँपालिका वडा नं.५ ताहुँको जम्मा १ हजार ९ सय २२ खसेको थियो। मतगणना गर्दा ७४ मत बढी भेटिएको भन्दै मतगणना स्थगित भएको हो।

प्रकाशित: १ जेष्ठ २०७९ ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App