३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अपराध

१ करोड १६ लाखसहित हुन्डी र क्रिप्टो कारोबारी पक्राउ

काठमाडौंको नागार्जुन नगरपालिका–८ भिमढुङ्गामा हुन्डी र क्रिप्टोकरेन्सीको अवैध कारोबार गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरूलाई १ करोड १६ लाख रुपैयाँ नगद र ठुलो परिमाणमा अन्य सामग्रीसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा नागार्जुन–८ भिमढुङ्गा बस्ने २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेका छन्।

उनीहरूले भिमढुङ्गालाई केन्द्र बनाएर अवैध रूपमा हुन्डी र डिजिटल मुद्राको कारोबार गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले उनीहरूको साथबाट नगदका अतिरिक्त विभिन्न बैंकका चेकबुक, ३ थानका २७ लाख ३० हजार रुपैयाँ बराबरको काटिएको चेक, ४ थान एटीएम कार्ड र एक थान नागरिकता बरामद गरेको छ।

यस्तै, उनीहरूले प्रयोग गर्ने दुई वटा चारपाङ्ग्रे र एउटा दुईपाङ्ग्रे सवारी साधन, तीन थान ब्लुबुक, ६ थान मोबाइल फोन र विभिन्न कम्पनीका ३१ थान सिमकार्ड समेत नियन्त्रणमा लिइएको छ।

डिजिटल कारोबारको प्रमाणका रूपमा प्रहरीले एक सेट कम्प्युटर र उनीहरूको ‘बाइनन्स’ खातामा रहेको ७ हजार १७५.३४ यूएसडीटी समेत फेला पारेको छ।

पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। उनीहरूमाथि हुन्डी तथा अभौतिक मुद्राको अवैध कारोबार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित: २ चैत्र २०८२ १७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App