१२ माघ २०८१ शनिबार
image/svg+xml
समाज

जलवायु संकटको सम्वोधन: निर्णायक तहमा किन छैन युवा सक्रियता ?

आफूलाई ‘एस्पर्गर सिन्ड्रोम’ नामक रोग देखिएपछि स्विडेनकी ग्रेटा थनबर्ग वातावरण अभियन्ता बनेकी थिइन् । एस्पर्गर सिन्ड्रोम एकोहोरोपन अवस्था हो, त्यस्तो मानसिक अवस्थाको अन्तिम चरण जसलाई ‘अत्याधिक सक्रियपन’ मानिन्छ । अर्थात् व्यक्तिको बौद्धिकस्तर साधारण भन्दा माथि रहने तर सामाजिक घुलमिल तथा अर्को व्यक्तिसँग कुराकानी  गर्नमा समस्या हुन्छ । तर उनी आफ्नो बिमारी नै सबै भन्दा ठूलो शक्ति रहेको र यसैका कारण सक्रिय वातावरण अभियानकर्ता भएको बताउँछिन् ।

वातावरण अभियन्ता ग्रेटा थनबर्ग

ग्रेटाले ९ कक्षामा पढ्दाकै बेला नोभेम्बर २०१८ मा स्विडिस संसद्अगाडि दुई साताको आन्दोलन गरेकी थिइन् । सरकारले १५ प्रतिशत कार्बन उत्सर्जनमा कटौती गर्नुपर्ने उनको माग थियो । त्यसपछि उनी निरन्तर यो अभियानमा सक्रिय छन् ।  

त्यसो त, पछिल्लो समय जलवायु परिवर्तनको समस्या युवाले धेरै भोग्नु परिरहेको छ र यो संकटबाट जीवनभर जुध्नुपर्ने पिँढी पनि यही हो । अहिले विश्वमा आफूले ‘गर्दै नगरेको गल्तीको सजाय किन भोग्नुपर्ने ?’ र जसका कारण यो समस्या सिर्जिएको हो त्यो पक्षले यसको समाधानमा पनि ठूलो योगदान गर्नुपर्ने बहस उठिरहेका छन् । यही सन्दर्भमा आफू र आफ्नो भविष्यसँग प्रत्यक्ष जोडिएको यो विषयमा युवाहरूले आफ्ना कुरा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनमा राख्दै आइरहेका छन् ।

नेपालको सन्दर्भमा पनि यो पिँढीले जलवायु परिवर्तनले नेपालमा पारेको असर र युवाले भोगिरहेका समस्याबारे सक्रियरूपमा बहस गर्दै आइरहेका हुन् । देशभित्रकै विभिन्न कार्यक्रम गरेर होस् अथवा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनलगायत अन्य मञ्चमा आफ्नो पक्षबाट पैरवी गर्ने र उपस्थिति देखाउँदै आएका छन् ।  

उसो त, जलवायु परिवर्तनकै प्रभावले नेपालमा पनि हिमालको हिउँ पग्लँदै गएको, हिम पहिरो र बाढी पहिरोका जोखिम बढेको विभिन्न अध्ययनले देखाएका छन् । यही वर्षको साउनमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेमा हिमताल फुटेर बाढी आयो । साउन ३२ गते शुक्रबार दिउँसो करिब १ बजे ठुल्ठूला ढुङ्गा र गेग्रानसहितको भीषण बाढीले हेर्दाहेर्दै रमणीय थामे बजारलाई ढुङ्गे बगरमा परिणात ग¥यो । जलवायु परिवर्तनको असरले यस किसिमका विपद् आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनले देखाएको छ । थामेमा मात्र होइन, नेपालले जलवायु परिवर्तनकै कारण स्वास्थ्य, कृषि, ऊर्जालगायतका क्षेत्रमा विभिन्न समस्या झेल्दै आएको छ । निसन्देह, यो संकटबाट महिला, युवालगायत गरिब, सीमान्तकृत वर्ग सबै भन्दा बढी प्रभावित छ ।  

यो चुनौतीबारे अहिले समाजका विभिन्न वर्ग तथा समुदाय तहमा बहस भइरहेका छन् । तर अझै पनि उनीहरूको आवाज नीतिगत तहमा पुग्न भने सकेको छैन । जलवायु परिवर्तनका अभियन्ता पोखराका अमृत देवकोटा अहिलेका युवाले भोगिरहेका समस्या आउने पुस्ताले पनि भोग्न नपरोस् भनेर अहिलेदेखि नै सजग हुनुपर्ने बताउँछन् । उनले विद्यालयमा शिक्षक र विद्यार्थीलाई जलवायु परिवर्तन र वातावरणीय अधिकारका कुरा बुझाइरहेका छन् । यो पनि समुदायमा सचेतना फैलाउने माध्यम बनेको छ ।

यसैगरी, काठमाडौँकी गीता पाण्डे पनि जलवायु परिवर्तनले पारेको असरमा बहस गर्न थालेको एक दशक पुगिसक्यो । उनी अभियन्ता बनेर काम गरिरहेकी छन् । वातावरण विज्ञानमा स्नातकोत्तर गरेलगत्तै उनी यो अभियानमा जुटिन् । जलवायु परिवर्तनले युवा, बालबालिका र महिलालाई झनै धेरै प्रभाव पारेको उनी बताउँछिन् । युवा, बालबालिका र महिलाभित्र पनि कुन क्षेत्रका अझै धेरै प्रभावित छन् भन्ने एकिन नभएकाले अनुसन्धान जरुरी रहेको पाण्डे बताउँछिन् ।  

जलवायु परिवर्तनका असरबारे सचेतना जगाउने युवा वर्गभित्र पनि महिला सहभागिता न्युन पाइएको छ । उनीहरू खुलेर बाहिर आउन सकिरहेका छैनन् । आएकामध्ये पनि नेतृत्वदायी भूमिका कमै देखिन्छन् । यसैले नीति निर्माण प्रक्रियामा उनीहरूको चिन्ता र सरोकार त्यति मुखरित देखिँदैनन्  ।

जलवायु कार्यका लागि नेपाली युवा (एनवाइसिए) की पूर्वसंयोजक अञ्जली चालिसे पछिल्ला ४ बटा  संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा लगातार भाग लिँदै आएकी छन् । वातावरण विज्ञानमा स्नातक चालिसेलाई पढ्दापढ्दै यही विषयमा बहस गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले पनि उनी यो अभियानमा अझै सक्रिय छिन् । पहिला भन्दा पछिल्लो समय जलवायु परिवर्तनको विषयमा युवाहरूले अलि धेरै चासो राख्न थालेका उनको अनुभव छ । सरकारले पनि युवा सहभागितालाई ध्यानमा राख्न थालेको पनि उनी बताउँछिन् ।  

जलवायु कार्यका लागि नेपाली युवा (एनवाइसिए) की पूर्वसंयोजक अञ्जली चालिसे

चालिसे भन्छिन्– पहिला अभियानमा लाग्ने युवाहरू धेरै थिएनन् । थाहा नै थिएन यो विषयमा । पछिल्लो समय युवाहरू यो अभियानमा धेरै जोडिनुभएको छ । सरकारले पनि युवाहरूलाई छलफलका लागि बोलाउने गरेको छ तर त्यसलाई नै पर्याप्त भन्न मिल्दैन । उहाँहरूले बोलाउने युवाहरूको संख्या सीमित हुन्छ । त्यसले पुग्दैन । बढाउनुपर्छ ।  

महिला स्वास्थ्य समस्या वृद्धि

‘जलवायु परिवर्तनका कारण आइपर्ने विपद्बाट युवती र महिलाहरू बढी प्रभावित भइरहेको मानवीय सहायताकर्मीले पाएका छन् । उनीहरूका अनुसार विभिन्न किसिमका दुव्र्यवहार, बेचबिखनको खतरा, घरका कामको बोझ थपिनेलगायतका समस्याबाट महिला प्रताडित छन् । हिमाली र पहाडी भेगका पानीको मुहानहरू सुक्दा टाढाबाट पानी बोकेर ल्याउनुपर्ने, गह्रुँगा भारी बोक्दा महिलामा पाठेघर झर्ने जस्ता समस्या धेरै देखिएको जनस्वास्थ्यकर्मीहरूको अनुभव छ । यसरी प्राकृतिक तथा जलवायुजन्य विपद्को सबै भन्दा बढी जोखिममा महिला वर्ग पर्दै आएका छन् ।  

अभियानमै सीमित छन् युवा, निर्णायक तहमा छैन हस्तक्षेप  

अभियन्ता अमृत देवकोटासँग जलवायु परिवर्तन प्राविधिक विषय भए पनि त्यसलाई सरल किसिमले बुझाउने सामग्रीको अभाव रहेको बुझाइ छ । देवकोटा आफैँले  दिगो विकासका लागि राष्ट्रिय युवा सञ्जाल र वातावरणीय अधिकार तथा जलवायु न्याय सञ्जालको नेतृत्व गरेर युवाहरूलाई यो अभियानमा जोडिरहेका छन् ।  

तर जलवायु परिवर्तनको विषयमा युवाहरूले बहस मात्र गर्ने तर निर्णायक तहमा पु¥याउन नसकेको देवकोटाले स्वीकारे । देवकोटा भन्छन्– विभिन्न कार्यक्रममा युवाहरूको सहभागिता रहन्छ । तर त्यो कत्तिको अर्थपूर्ण रह्यो भन्ने हेर्न आवश्यक छ । जलवायु परिवर्तनको विषयमा बहस गर्ने र आफ्नो अधिकारलाई व्यवस्थित किसिमले उठाए मात्र प्रभावकारी हुन सक्छ । हाल सीमित मात्रामा रहेको उनीहरूको भूमिका निर्णायक तहमा पु¥याउन अझै मेहनत गर्नुपर्ने देवकोटाको ठहर छ ।  

वातावरण अभियन्ता अमृत देवकोटा

युवाहरू स्वभावले बढी सिर्जनशील हुन्छन्, त्यसैले यो विषयलाई युवाका तर्फबाट समाजमा लैजाँदा यसको प्रभाव पर्न सक्ने उनको अनुमान छ । सरकारले नै भर्खर भर्खर यो मुद्दालाई अलि बढी उठाइरहेको सन्दर्भमा आगामी दिनमा युवाहरूको सहभागिता निर्णायक तहमै हुन सक्नेमा देवकोटा आशावादी भने छन् ।

जलवायु परिवर्तनको असरबारे सचेतना जगाउने अभियानकी अञ्जली चालिसेको भने सरकारले पछिल्लो समयमा युवाहरूलाई जलवायु परिवर्तनका विषयमा सहभागी गराउन थाले पनि त्यो पर्याप्त नभएको जिकिर छ । चालिसे भन्छिन्– पहिलाको तुलनामा अहिले युवाहरूलाई नै बोलाएर मन्त्रालयले छलफल गर्न थालेको छ । त्यो राम्रो पक्ष हो । अहिले युवाहरू पनि चाहिन्छ भन्ने वातावरण भने बनेको छ । मन्त्रालयले बोलाउने युवा सीमित छन् । त्यति युवाहरू मात्र बोलाएर पुग्छ भन्ने लाग्दैन । देशैभरको सहभागिता हुनुपर्छ ।  

राजनीतिक अजेन्डा बन्न आवश्यक

दलहरू पनि पछिल्लो समय जलवायु परिवर्तनमा बहस गर्न लागेका छन् । अहिले जलवायु परिवर्तनसँग सम्बन्धित कुनै पनि अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुनुपूर्व यी दलले युवाका राय सुझाव लिन थालेका छन् ।  

दलहरूले आफ्नो घोषणापत्रमै जलवायु परिवर्तनका मुद्दाहरू प्राथमिकतासाथ राख्न आवश्यक रहेको देवकोटा बताउँछन् । जलवायु परिवर्तनको विषयमा दलहरूले बहस गर्दा झनै प्रभावकारी देखिने चालिसे बताउँछिन् । तर दलहरूले यसको विषयमा त्यति कुरा उठाउने नगरेको उनको बुझाइ छ । चालिसे भन्छिन्– दलहरूले जति मात्रामा कुरा उठाउनुपर्ने हो त्यति उठाएका छैनन् । बजेटका कुरा आउँदा भने उहाँहरू बोलेको देखिन्छ तर त्यसपछि र अघिको समयमा मौन हुने गर्छन् । अन्य समयमा पनि उहाँहरूले बहस गर्न आवश्यक छ ।

सांसदले लिनुपर्ने पहल

जलवायु परिवर्तनको विषयमा राजनीतिक दलभित्र पनि बहस हुन थालेको छ । प्रमुख दलका युवा सांसदहरू यो अभियानमा सक्रियरूपमा लागेका छन् । कति पार्टीले जलवायु परिवर्तन विभाग बनाएर काम गरिरहेका छन् । माओवादी केन्द्रका सांसद माधव सापकोटाका अनुसार, दलमा वन, वातावरण तथा जलवायु परिवर्तन विभाग बनेको छ । अब पार्टीभित्र जलवायु परिवर्तनको विषयमा छलफल गर्ने तयारी छ । व्यक्तिगतरूपमा पनि आफ्नो निर्वाचन क्षेत्रमा जाँदा युवाहरूसँग सो विषयमा छलफल गर्ने गरेको उनी बताउँछन् । सापकोटा भन्छन्– व्यक्तिगतरूपमा म निर्वाचन क्षेत्रका कार्यक्रममा जाँदा जलवायु परिवर्तनको विषयमा छलफल गर्ने गरेको छु । पार्टीभित्र पनि जलवायु यस विषयमा बहस गरिरहेका छौँ । अब योजना बनाएर नै कार्यक्रम गर्ने योजनामा छौँ ।

नेकपा (माओवादी केन्द्र)का सांसद् माधव सापकोटा

सापकोटा यो विषयलाई विशेषतः युवा पुस्ताले लिएर हिँड्नुपर्ने बताउँदै भन्छन्– हामीले कार्बन उत्सर्जन नरोक्ने हो भने र जलवायु परिवर्तनको असरलाई नियन्त्रण नगर्ने हो भने आगामी पुस्ताका लागि डरलाग्दो चुनौती समाना गर्नुपर्नेछ । त्यसैले धेरै ज्ञान हुनुपर्ने, सचेत बन्नुपर्र्ने, छलफल अन्तरक्रिया हुनुपर्ने नै युवा पुस्ताबीच हो ।  

यसैगरी नेपाली कांग्रेसको जलवायु परिवर्तन विभाग प्रमुख कल्याण गुरुङ पार्टीभित्र जलवायु परिवर्तनको विषयमा बहस गरिरहेको बताउँछन् । वातावरण विज्ञान, वन, अर्गानिक कृषि, नीति निर्माणलगायत फरक फरक क्षेत्रका व्यक्तिहरूसँग निरन्तर छलफल गरिरहेको बताउँदै उनी भन्छन्– हामीले जलवायु परिवर्तनसँग सम्बन्ध राख्ने विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफल गरिरहेका छौँ । पार्टीभित्रका युवाहरूसँग पनि यो विषयमा छलफल गरिरहेका छौँ । स्थानीय तहहरूसँग पनि हामीले छलफल कार्यक्रम राखेका छौँ । अहिले सचेतना गराउने अभियानमै हामी लागिरहेका छौँ । नीति निर्माणमा पनि अब लाग्ने उनले बताए । पार्टीको केन्द्रीय समितिको बैठकमै जलवायुका विषयहरू ल्याएर निर्णय गराउनुका साथै प्रतिनिधि सभामा नीति निर्माणमा यो विषयलाई सशक्त पार्ने दिशामा कार्य गर्ने गुरुङको तयारी छ ।  

नेकपा एमालेकी सांसद सुनिता बराल पनि जलवायु परिवर्तनको विषयमा नेपालमा आन्तरिक छलफल नै नपुगेको बताउँछिन् । बराल भन्छिन्– यो विषयमा राज्यदेखि संघ/संस्थाहरूसम्म सबैले काम गरिरहेका छन् तर नेपालीको समस्या के हो र हाम्रो माग के हो भन्ने कुराको एकीकृत कार्यक्रम बनाएर जान सकिरहेका छैनौँ । राज्यका प्रमुख व्यक्तिहरू अन्तर्राष्ट्रिय कार्यक्रममा जाँदा यो विषयलाई सबैले उठाउनुभएको त छ तर साझा कार्यक्रम बनाउन सकेका छैनौँ ।

नेकपा (एमाले)की सांसद् सुनिता बराल

नेपालले जलवायु परिवर्तनको विषयमा एउटा साझा माग बनाउनुपर्छ भनी बहस भने गरिरहेको उनले बताइन् । अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालले सहभागिता जनाउँदा कस्ताखालका विषय उठाउनुपर्छ भनेर आफूहरूले सरकारलाई निरन्तर सुझाव दिइरहेको उनको भनाइ छ । तर नेपालमा कुन विषयमा कुन व्यक्तिलाई सहभागी गराउनुपर्छ भन्ने संयन्त्र बनाउन अझै मेहनत गर्नुपर्ने उनी बताउँछिन् ।  

नेपालमा भने अझै जलवायुको विषयबारे जनचेतना फैलाउनुपर्ने अवस्था रहेको बरालको बुझाइ छ । उनी भन्छिन्– जलवायु परिवर्तन शब्द सबैले सुनेको तर यसले कस्तो प्रभाव पार्छ भन्ने कुरा सबैलाई जानकारी नभएको अवस्था छ । जलवायु परिवर्तन भन्नेबित्तिकै के के न हो भन्नेखालको भाष्य बनाइएको छ । हामी जुन संरचनामा छौँ अहिले जे जे परिवर्तन भइरहेको छ, त्यो बुझाउन आवश्यक छ ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालले उठाउनैपर्ने मुद्दा

सांसद सापकोटा जलवायु परिवर्तनको विषयमा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा जान नेपालको गृहकार्य नपुगेको बताउँदै थप्छन्– भर्खरै कोप–२९ सम्पन्न भयो । त्यहाँ नेपालको उपस्थिति एकदमै कमजोर रह्यो । अनावश्यक मान्छे पनि जाने र कार्यक्रमलाई वैदेशिक यात्रा बनाउने प्रचलन बढ्यो । जलवायु परिवर्तनको विषयमा आन्तरिक गृहकार्य गरेर देशको साझा माग के हो त्यो बनाउनुपर्छ । यो विषयमा राज्यदेखि एउटा नागरिकसम्मको धारणा एउटै हुनुपर्छ ।  

त्योसँगै क्षेत्रीय र अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागिता जनाउन स्थायी प्रकृतिको संरचना बनाउनुपर्ने सापकोटा बताउँछन् । उनको भनाइ छ– अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहकार्यका लागि स्थायी प्रकृतिको कार्ययोजना बनाउनुपर्छ र त्यहाँ विशेषज्ञहरू राख्नुपर्छ । होइन भने कसले के बोल्यो थाहा नहुने भइरहेको छ । जलवायु परिवर्तनको प्रभावका विषयमा नेपालले हानि नोक्सानी कोषलाई लिएर धेरै बहस गर्नुपर्छ । क्षेत्रीय र अन्तर्राष्ट्रियरूपमा कूटनीतिक समन्वय बढाउने, नेपाल जस्तै जलवायु परिवर्तनको प्रभाव भोगिरहेका देशहरूसँग समन्वय गर्ने जस्ता काम नेपालले गर्नुपर्छ ।  

नेपालले निकुञ्ज, संरक्षण क्षेत्र र ठूलो वन क्षेत्र कायम गरेर पारिस्थितिकीय सन्तुलन कायम राख्न र स्वच्छ अक्सिजन कायम राख्न योगदान पु¥याइरहेको उनी बताउँछन् । यसबारे अन्तर्राष्ट्रिय कार्यक्रममा अझै बढी बहस गर्नुपर्ने उनको सुझाव छ । नेपालले जोगाइरहेको पारिस्थितिक प्रणालीबारे अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा बहस गरी त्यो योगदानबापतको जलवायु वित्त र सहयोग नेपाल भित्र्याउन सक्नुपर्नेमा उनको जोड छ ।  

अभियन्ता देवकोटा पनि अन्तर्राष्ट्रिय जलवायु वार्तामा नेपालले विश्वसामु प्राथमिकताका आधारमा कुरा उठाउन आवश्यक रहेको बताउँछन् । नेपालसँग हिमालका अजेन्डाहरूमा राम्रोसँग नेतृत्व गर्ने अवसर रहेको धाराण राख्दै उनी अगाडि भन्छन्– नेपालले जलवायु परिवर्तनको विषयमा विशेषगरी तीन कुरा उठाउनुपर्छ– एउटा हिमालका मुद्दा । हाम्रा हिमालका हिउँ पग्लिरहेका छन् । अर्को, हानि नोक्सानीका कुरा । हिजोको जलवायु परिवर्तनका कारण कति क्षति भयो, कति नोक्सान भयो, त्यसको हिसाब गरेर त्यसबापतको क्षतिपूर्ति नेपाल र नेपाल जस्ता देशहरूले पाउनुपर्छ । र तेस्रोमा जलवायु वित्त र न्यायको कुरा उठाउनुपर्छ । औद्योगिक देशहरूले उत्सर्जन गरेका कार्बन हाम्रा वनले सोस्छन् । त्योबापत नेपालले क्षतिपूर्ति पाउनुपर्छ ।  

‘हाम्रो तर्फबाट अभियान गरिरहेका छौँ’

राष्ट्रिय युवा परिषद् उपाध्यक्ष सुरेन्द्र बस्नेत जलवायु परिवर्तनका विषयमा काम गरिरहेको बताउँछन् । नेपालमा जलवायु परिवर्तनको बहस गरिरहँदा धेरै मानिस मौसम परिवर्तनमै अडिइरहेको बताउँदै उनले आफूहरूले सचेतनाका काम गरिरहेको बताउँछन् । परिषद्ले नीतिगत क्षेत्र, कार्यक्रम र अभियानकै रूपमा पनि काम गरिरहेको उनको भनाइ छ । अहिले नयाँ बन्दै गरेको राष्ट्रिय युवा नीति २०८१ म जलवायुका कुरालाई महत्वपूर्ण आधारस्तम्भकै रूपमा राखिएको बताउँछन् उनी । त्यस्तै ‘युथ भिजन २०२५’ र छलफलमा रहेको ‘युथ भिजन २०३५’ मा पनि यो विषयलाई समेट्ने कुरामा काम भइरहेको उनको दाबी छ ।  

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत

त्यस्तै युवा परिषद्ले सञ्चालन गर्दै आइरहेको नमुना युवा संसद् कार्यक्रममार्फत पनि यो विषयलाई उठाएको उनी बताउँछन् । नमुना युवा संसद् कार्यक्रममा जलवायु परिवर्तनको विषयलाई मुख्य अजेन्डा बनाएर कार्यक्रम गरिरहेको बताउने उनी परिषद्ले नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास कार्यक्रममा पनि यो विषयमा बहस गर्ने बताए ।  

सरकारी स्तरबाट भने यस्ता कार्यमा कुनै पनि समन्वय र सहकार्य नभएको बस्नेतले बताए– परिषद्ले युवाको क्षेत्रमा काम गरिरहेको छ । हामी दैनिकरूपमा युवाहरूसँग जोडिइरहेका छौँ । यही विषयमा काम गरिरहेका छौँ तर यो विषयमा हामी युवालाई सरकारले जति सम्झनुपर्ने हो, त्यो छैन । हाम्रो सहभागिता जति मात्रामा हुनुपर्ने हो त्यो सरकारले गराउन सकेको छैन ।

देशैभरका युवा समेट्न किन छैन सम्भव ?  

वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालको भनाइ छ– संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलनको एउटा अङ्ग नै सहभागिता छ । त्यसमा युवा, संघ/संस्था र समाजका हरेक पक्षलाई सहभागी बनाएर उनीहरूमार्फत जलवायु परिवर्तनका कारण परेका असरहरू न्यूनीकरण गर्नुपर्छ । यो काम एउटा समूह, एउटा दलले मात्र गरेर हुँदैन । सबै वर्ग, क्षेत्र, युवाहरूलाई सहभागी गराउनुपर्छ भन्ने रहेको र सोहीअनुसार राज्यले काम गरिरहेको छ । नेपालबाट प्रतिवेदन बनाएर पठाउँदा पनि यो विषयलाई समावेश गरेका छौँ । मन्त्रालयले विषयगतरूपमा छलफल गराउने, अन्तरक्रिया गराउने काम गरिरहेको छ । तर युवाहरूलाई कार्यक्रम नै दिने विषयमा भने बजेट छैन ।  

तर अभियानमा जोडिएर मन्त्रालयसँग समन्वय गर्न आउने युवाहरूलाई भने सँगसँगै लिएर गएको बताउँदै उनी भन्छन्– कोप–२९ मा त्यस्ता युवा आफैँ जानुभएको छ । देशभरका युवालाई समेट्न नसकेको भए पनि प्रतिनिधित्वका रूपमा युवाहरूलाई समेटिरहेको उनको भनाइ छ । समेट्नुपर्ने धेरै क्षेत्र रहेका बताउँदै उनले कहिलेकाहीँ कोही छुटेको हुन सक्ने पनि बताए । तर अभियानमा सक्रियरूपमा लागिरहेका युवाहरूलाई भने आफूहरूले नछाडेको उनको दाबी छ ।  

वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खराल

अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सरकारी स्तरबाटै युवाहरूलाई पनि लैजाने भन्ने कुरा सम्भव नभएको बताउँदै उनले भने– अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सरकारबाट नै युवाहरूलाई समावेश गर्ने भन्ने कुरा अहिले सम्भव छैन । लैजानुपर्ने भन्नेखालको त्यो संरचना पनि छैन । हामी सक्दैनौँ तर उहाँहरू हामी आफँै जान्छौँ, समन्वय गरिदिनूस् भन्नुहुन्छ भने हामीले त्योचाहिँ गर्ने गरेका छौँ । त्यसरी जाने युवा पनि धेरै छन् ।

जलवायु परिवर्तनको विषयमा स्वतन्त्ररूपमा बजेट ल्याएर काम गर्ने युवा धेरै मात्रामा रहेका पनि उनको भनाइ छ । सरकारी स्तरबाट त्यस्तो बजेट नभए पनि आफैँले बजेट खोजेर काम गर्ने र सरकारलाई पनि झक्झकाउने युवा र युवाहरूको संस्था धेरै रहेका उनको बुझाइ छ ।  

प्रकाशित: ११ माघ २०८१ १८:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App