तिथिले साउन लागेपछि महिनाको पहिलो सोमवार शिव मन्दिरमा ठूलो भीड देखिएको छ। रौतहट, सर्लाही र पर्सा जिल्लामा रहेका विभिन्न शिव मन्दिरमा श्रद्धालु दर्शनार्थीको भीड बाक्लिएको छ।
रौतहटको गरुडास्थित शिवनगर, गौरस्थित बालेश्वर महादेव मन्दिर, मौलापुरस्थित पुरातात्विक महादेव मन्दिर, गढीमाईको समनपुरस्थित शंकर मन्दिरमा सोमवार बिहानदेखि श्रद्धालुको भीड देखिएको छ। गरुडास्थित शिवनगरमा सबैभन्दा बढी भीडभाड देखिएको छ। श्रद्धालुको अत्यधिक भीड भएपछि भीडलाई व्यवस्थित गर्न शिवनगरमा बिहानदेखि प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
शिवनगरमा बिहान साढे पाँच बजेदेखि प्रहरी परिचालन गरिएको छ। बिहानदेखि पच्चीस हजारभन्दा बढी श्रद्धालुले शिवनगरमा दर्शन गरेको बताइएको छ। यसैगरी पर्साको पारसनाथ मन्दिरमा पनि श्रद्धालुको घुइँचो देखिएको छ। बिहानदेखि अन्य मन्दिरमा पनि श्रद्धालुको घुइँचो देखिएको छ।
यसैगरी सर्लाहीको मूर्तिया, शिवनगर, मलंगवा र चन्द्रनगरमा रहेका शिव मन्दिरमा बिहानदेखि दर्शनार्थीको भीड देखिएको छ। सर्लाहीको मन्दिरमा हजारौंले दर्शन र पूजा गरिसकेको देखिएको छ।
साउन महिनाको चतुर्थी तिथिमा पहिलो सोमवार परेपछि धेरै शिव मन्दिरमा भीडभाड देखिएको छ। मधेशको लोकजीवनमा तिथिलाई नै महिनाको मूल आधार मानिएको छ।
पहिलो सोमवार परेकोले धेरै महिलाले व्रत पनि बस्ने गर्छन्। व्रत बसेका महिलाले दिनभरमा कुनै पनि समय महादेव स्थान पुगेर दर्शन र पूजा गर्ने चलन छ। साउन महिनाभर हरेक सोमवार मन्दिरमा भीडभाड हुने गर्छ।
प्रकाशित: ३० असार २०८२ १२:४७ सोमबार





