धार्मिक सहिष्णुता र संस्कृतिको समन्वयले नेपाललाई सधैं विशेष बनाएको छ। मुलुकमा कहिलेकाहीं यस्ता दृश्य देखिन्छन्, जसले सांस्कृतिक विविधताको सौन्दर्यलाई उजागर मात्र गर्दैनन्, भविष्यका पुस्तालाई एक नयाँ आशा र सन्देश पनि दिन्छन्। यस्तै सन्देश दिएको छ- भक्तपुरको मुनी बिहारमा मंलबार सम्पन्न स्टेराको ‘गुफा’ ले।
ज्ञानेन्द्र प्रजापति पारम्परिक हिन्दु संस्कार र संस्कृतिभित्र हुर्किएका व्यक्ति हुन्। उनकी जीवनसाथी बेल्जियमकी जोय क्रिश्चियन धर्मावलम्बी हुन्। १५ वर्षअघि सम्पन्न अन्तरधार्मिक विवाहको यो सम्बन्ध केवल पारिवारिक मात्र होइन, सांस्कृतिक सहिष्णुताको उदाहरण पनि बन्दै गएको छ।
उनीहरूकी आठ वर्षीया छोरी स्टेराको गुफा मंगलबार भक्तपुरको मुनि बिहारमा हुँदा सिंगो सहर रमायो। उक्त अवसरमा उनीहरूका नातेदार, साथीभाइ र आफन्तहरूको उपस्थिति थियो। नेपाल मात्र होइन, बेल्जियममा बसोबास गरिरहेका ५० भन्दा बढी आफन्त कार्यक्रममा सहभागी हुन आएका थिए।
नेवारी संस्कारमा कुनै पनि बालिका किशोरावस्थामा प्रवेशसँगै गुफा राख्नुपर्ने चलनका कारण स्टेराको परिवार नेपाल आएका हो। ‘स्टेरालाई गुफा राख्न नेपाल आएका हौं,’ जोयका साथ नेपाल आएका ज्ञानेन्द्रले भने, ‘नेपाली संस्कार हेर्न बेल्जियमका केही आफन्त पनि हामीसँगै आएका छन्।’
मुनि बिहारबाट बाहिरिएकी स्टेराले गुफा बसेको क्षण निकै यादगार रहेको सुनाइन्। बेल्जियमबाट आएका अन्य पनि स्टेरासँगै बसेका थिए। ‘स्टेरासँगै म पनि गुफा बसें,’ बेल्जियमबाट आएकी सोफियाले भनिन्, ‘मलाई पनि रमाइलो लागिहरेको छ।’
नेवारी परम्परामा बालिका महिनावारी हुनु केही वर्षअघि नै घाम पनि नपस्ने अँध्यारो कोठामा गुफा राखिन्छ। यसलाई सूर्यसँग विवाहका रुपमा लिइन्छ। यसलाई दोस्रो विवाह पनि मानिन्छ।
‘गुफा’ नेवारी संस्कृति हो। स्टेराको ‘गुफा’ तीन धर्मबिचको गहिरो समझदारी र आपसी सम्मानको अतुलनीय उदाहरण बन्न पुग्यो। ‘हामीलाई निकै खुसी लागेको छ,’ बिहारका भिक्षु उडासेनले भने,’ धर्मको हिसाबले नाम फरक भए पनि सबै एकै हुन्।’
बिहारमा गुफा बस्दा सबैलाई शान्ति मिल्ने उनको बुझाइ छ। ‘यो पवित्र स्थान धर्मभन्दा माथि संस्कार, शान्ति र माया फैलाउने थलो हो,’ उनले भने, ‘तपाईंले पनि यहाँ आज यही पाउनु भयो होला।’
यस्तै बुझाइ छ अन्यको पनि। ‘यसले एउटी बालिकाको व्यक्तिगत संस्कारभन्दा ठुलो अर्थ बोकेको छ,’ स्टेराका ठुलो बुबा दीपेन्द्र प्रजापतिले भने्, ‘हेर्दा यहाँ हिन्दु, क्रिश्चियन र बौद्धधर्मावलम्बी देखिन्थ्यौं तर यसले समग्रको मुहारमा ल्याएको खुशी भने एकै छ।’
स्टेराको गुफा कार्यक्रममा भिक्षुहरूले गुफाको सांस्कृतिक पक्ष, सूर्य दर्शनको अर्थ र बौद्ध धर्ममा यो संस्कारको ऐतिहासिक महत्तवबारे विदेशी अतिथिलाई पनि जानकारी गराएका थिए। यसका लागि कार्यक्रममा दोभासेको सहयोगसमेत लिइएको थियो। ‘स्टेराको गुफा कार्यक्रममार्फत हामीले विदेशीलाई संस्कृति बुझाउन खोजेका हौंं,’ दीपेन्द्रले भने, ‘उनीहरूले निकै ध्यानपूर्वक सबै कार्यक्रम नियालें।’
स्टेरा भिक्षुहरूको अगुवाइमा ध्यान, शान्ति र अनुशासनको अभ्यासमा सामेल हुँदा उनका साथीहरूले पनि ध्यान बसेका थिए। यस्तो लाग्थ्यो फरक धर्म र संस्कृति अगालेको सिंगो संसार नै भक्तपुरको बुद्ध बिहारमा ध्यानमग्न छ।
कार्यक्रममा सहभागी धेरैजसाले भादगाउँले टोपी लगाएका थिए। बालबालिकादेखि वृद्धवृद्धासम्मको अनुहारमा उत्साह झल्किरहेको थियो। बेल्जियमबाट आएका पाहुना पनि गुफा संस्कारको भव्यता देखेर खुसी देखिन्थे। ‘धर्म फरक भए पनि संस्कार र माया एउटै हो,’ स्टेराकी आमा जोयले मुस्कुराउँदै भनिन्, ‘छोरीको जीवनको यो पाटो हेर्न पाउँदा धन्य छु।’

स्टेराकी मामाघरकी हजुरआमा अझ भावुक देखिन्थिन्। ‘नेपालमा आएर यस्तो सांस्कृतिक कार्यमा सहभागी हुन पाउनु हाम्रा लागि ठुलो भाग्य हो,’ हजुरआमा बेया अलेनले भनिन्, ‘यो मेरो जीवनभरको यादगार क्षण बन्ने छ।’
यसअघि पनि स्टेराको परिवार नेपाल आएको थियो। ज्ञानेन्द्रले छोरा भिक्टरको पनि हिन्दु परम्पराअनुसार व्रतबन्ध यहाँ आएर गरेका थिए। बेल्जियमको व्यस्त जीवनशैलीबाट नेपाल फर्केर आफ्ना संस्कारहरू यहीं गर्नु, पारिवारिक मूल्य र संस्कारप्रतिको गहिरो लगावको सूचक हो।
‘तीन वर्षअघि छोरा भिक्टरको व्रतबन्ध पनि नेपालमै आएर गरेको थिएँ,’ ज्ञानेन्द्र भन्छन्, ‘जुनसुकै मुलुकमा भए पनि संस्कृतिले डोहोर्याउँदो रहेछ।’
परदेशी सन्तान, देशको संस्कार
ज्ञानेन्द्रका बुबा तुलसी नारायण प्रजापति कमल विनायक नजिकै बस्छन्। उनका चारमध्ये तीन छोरा अहिले विदेशमा छन्। तीन छोरा विदेशमा बस्छन्। विदेशमा भए पनि उनीहरूले आफ्नो पारिवारिक संस्कार, उत्सव र सांस्कृतिक पक्ष बिर्सेका छैनन्।
‘छोराहरू टाढा छन् तर संस्कृतिले तानेरै यहाँ ल्याउँछ,’ तुलसीनारायण भन्छन् ‘व्रतबन्ध होस् वा गुफा, यी अवसरहरूले घर भरिन्छ, संसार भरिएजस्तो लाग्छ।’
ज्ञानेन्द्रले भने, ‘बेल्जियममा हामी आधुनिक शिक्षा र धर्मिक स्वतन्त्रतामा हुर्किरहेका छौं तर नेपालका यी संस्कारले हामीलाई हाम्रो जरा सम्झाउँछन् र बेलामौकामा हामी यहाँ आउँछौं।’
विदेशमा बस्ने सन्तान संस्कृति मान्न घर फर्केकोमा तुलसीनारायण खुशी छन्। ‘हामीलाई मात्र हैन, उनीहरूले हाम्रो संस्कृतिलाई पनि उत्तिकै माया गरेका छन्,’ उनले भने, ‘यसले हामी निकै खुशी भएका छौं।’
विदेशमा रहेका सबै छोराले चाडपर्व, संस्कृति नभुलेको उनले सुनाए। ’यसअघि अमेरिका र अस्ट्रेलियमा रहेका छोराहरु पनि आफ्ना सन्तानको संस्कारका लागि यसैगरी नेपाल आएको उनले सुनाए।
अन्नप्रासन, व्रतबन्धदेखि गुफा बस्ने सबै कार्य नेपालमै हुने गरेको उनले सुनाए। ‘संस्कृतिले छोराहरूलाई नेपालसँग र हामीलाई छोराहरूसँग जोडेको छ,’ उनले हाँस्दै भने, ‘विदेशमा बस्ने सन्तान संस्कृति पछ्याउँदै घरमा भेला हुँदा निकै रमाइलो लाग्छ।’
बिहारमा सम्पन्न स्टेराको गुफाले एउटा सन्देश दिएको छ– संस्कार हराउँदैन, फर्कन्छ।
प्रकाशित: २० श्रावण २०८२ १९:४५ मंगलबार





