तीजको चहलपहलसँगै रातो सारी, चुरा, मेहन्दी र सौन्दर्य सामग्रीले बजार भरिएका छन्। किनमेल गर्नेको भीडले बजार राताम्मे देखिन्छ। यही बजारभन्दा अलिपर एउटा फरक भीड छ, जसले तीजको भीड देख्दैन, केवल सुन्छ। त्यो भीडले रातो सारी र मेहन्दीको रङ देख्न सक्दैन तर सुनेका भरमा रङको अनुभूति गर्न सक्छ। त्यो भीड दृष्टिविहीनहरूको हो।
तीज धार्मिक पर्व मात्र होइन, यसले सांस्कृतिक र सामाजिक रौनकतासमेत ल्याउँछ। यो रौनक केवल देख्नेहरूले मात्र होइन, दृष्टिविहीन समुदायले पनि समान रूपले अनुभव गर्छ। उनीहरूमा तीज गीत, चुराको आवाज र साथीहरूको सामीप्यले अझ उत्साह थप्छ। अरूले गरेको बयानका आधारमा अनुभूति गर्दा पनि खुसी महसुस हुने उनीहरू बताउँछन्। तीज महिलाको विशेष पर्वका रूपमा लिइन्छ। अन्य महिलाले जस्तै दृष्टिविहीन महिला पनि रातो सारीसँगै नाचगान गरेर यो पर्व मनाउँछन्। तिनैमध्येकी एक हुन्, ब्लाइन्ड रक्स अर्गनाइजेसनकी सचिव नारायणी दवाडी।

जन्मजात दृष्टिविहीन उनी चाडपर्वले समाजीकरणमा सहयोग पुर्याउने बताउँछिन्। ‘तीज हामी पनि अरूले जस्तै गरी मनाउँछौं’, उनी भन्छिन्, ‘रातो सारी लगाएर नाच्न पाउँदा हामीलाई पनि खुसी लाग्छ।’
मेहन्दी लगाउँदाको अनुभूति होस् वा कपडाको स्पर्श नै किन नहोस्, उनीहरूका लागि तीज विशेष हुने गरेको छ। दृष्टिविहीनका लागि तीजको खुसी खासगरी अनुभूति र श्रवणसँग हुन्छ। ‘हामी तीज गीत सुनेर पनि रमाइलो महसुस गर्छौं’? दवाडी सुनाउँछिन्, ‘समग्रमा हामीलाई तीज खुसीको पर्व लाग्छ।’ रङ नदेखे पनि तीजको वातावरणले आफूहरूलाई पनि रंगीन संसारको महसुस गराउने उनले सुनाइन्।
ब्लाइन्ड रक्सकी संस्थापक अध्यक्ष सृष्टि केसी पनि यस्तै भन्छिन्। जन्मजात दृष्टिविहीन नभए पनि उनले पछि आँखाको ज्योति गुमाएकी हुन्। ‘नदेख्दैमा जीवन असहज हुने होइन’, उनले भनिन्, ‘हामी धेरै कुरा महसुस गर्न सक्छौं।’
चुराको खनखन, गीतको ताल, साथीहरूको हाँसो र नाचको चालबाट दृष्टिविहीनले खुसी महसुस गर्ने उनी बताउँछिन्। अरू जस्तै दृष्टिविहीन महिला पनि तीजमा शृंगारले सजिन्छन्। ‘हामी आफ्नो सजावट काँचको ऐनामा देख्न सक्दैनौं, परिवारका सदस्यले भनेपछि महसुस गर्छाैं’, केसी भन्छिन्, ‘तीजमा अन्यसरह सहभागी भएर रमाउँछौं।’

उनी यतिबेला कामको सिलसिलामा जर्मनी भए पनि तीजले छोइसकेको बताउँछिन्। जर्मनीमा भए पनि नेपालीपन झल्काउने पहिरनमा तीज मनाउन अग्रसर भएको उनले सुनाइन्।
तीज हिन्दु महिलाको पर्व हो। दृष्टिविहीन महिला पनि श्रद्धापूर्वक यो पर्वमा सहभागी हुन्छन्। देख्न नसके पनि धूपको सुगन्ध, घण्टीको आवाज र मन्त्रको धुनले उनीहरू रंगिन्छन्। तीजमा महिलाले लगाउने कपडाको चमक दृष्टिविहीनले देख्न सक्दैनन् तर उनीहरू त्यो चमक अनुभूति गर्छन्। तीज रमाइलो मात्र होइन, समाजलाई सन्देश पनि हो। ‘आँखाको दृष्टि नभए पनि ईश्वरप्रतिको आस्था र विश्वास सबैमा समान हुन्छ’, दृष्टिविहीन नीरा अधिकारी भन्छिन्, ‘हामी पनि अरू जस्तै व्रत बस्छौं र मन्दिर जान्छौं।’

अरूले पार्टी प्यालेसमा गएर दर खाए पनि आफूले परिवार र साथीसँग बसेर दर खाने गरेको उनी बताउँछिन्। उनीहरूका कुरा सुन्दा तीज बाहिरी रमाइलो मात्र हैन, मनको पर्व पनि हो। त्यसैले तीजको रौनकमा उनीहरू पनि रंगिएका छन्। केसी थप्छिन्, ‘खासमा तीज आँखाको पर्व होइन, मन र आत्माको पर्व हो।’
प्रकाशित: ९ भाद्र २०८२ ०७:४४ सोमबार





