१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

इन्द्र जात्रा मनाउन एक करोड खर्च !

कसरी मनाइन्छ इन्द्रजात्रा ?

उपत्यकाबासीको पर्व इन्द्रजात्रा यही भदौ ९ गतेदेखि जारी छ । यो पर्व मनाउन गुठी संस्थानले झण्डै एक करोड रुपैयाँ खर्चिएको छ ।  

गुठी संस्थानले बुधबार पत्रकार सम्मेलन गरी संस्थापनका प्रशासक सैलेशराज कुवरले उपत्यकामा इन्द्रजाता सुरु भएदेखि अन्त्य नहुँदासम्म त्यसको सबै व्यवस्थापन र सञ्चालन संस्थानले गर्ने गरेको बताउदै त्यस काममा झण्डै १ करोड रुपैयाँ खर्च हुने बताए । ‘उपत्यका सबै पर्व तथा जात्राहरूको व्यवस्थापन र सञ्चालन संस्थानले गर्दै आएको छ । उपत्यकाका स्थानीय तहले पर्व र जात्राको लागि स्थान उपलब्ध गराउन सहयोग गर्ने गरेका छन’ उनले भने ।

गत भदौ ९ गते वनयात्राबाट उपत्यकामा इन्द्र जात्राको उल्लास सुरु भयो । त्यसरी सुरु भई त्यसैदिन साँझ वृक्षकर्तन गरी तथा इन्द्रजात्राको लिङ्गो बनाई डोरीको सहायताबाट तान्दै भदौ १५ गते नगर प्रवेश गराइएको थियो ।

संस्थानका अनुसार बुधबार इन्द्र ध्वजोत्थान कार्यक्रम गरियो । भदौ २१ गते कुमारी, गणेश र भरैव रथ यात्रा सुरु भई २६ गते साँझ १० बजेर ३२ मिनेटमा इन्द्र ध्वजपतन गरी जात्रा समापन हुने कार्यक्रम तय गरिएको संस्थानले जनाएको छ ।

संस्थानका अनुसार इन्द्रजात्राको अघिल्लो दिन कार्यालयको तर्फबाट गरिने वलम्भोजमा जात्रासँग सम्बन्धित करिब १५ वटा गुठीका ४०० जना रकमीको जात्रामा महत्वपूर्ण भूमिकामा रहन्छन् ।  

त्यस भोजकोलागि आवश्यक भोज सामग्रीहरुको व्यवस्था संस्थानले गरेको छ ।

वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी परम्परागत रूपमा काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखामा मनाइने यो जात्रामा स्थानीयको उल्लेख्य र उत्साहजनक उपस्थिति हुने गरेको छ । काठमाडौंमा इन्द्रध्वजाको लिङ्गो (योंसी) ध्वजा पताकाले सजाएर मंगलधुनका साथ बसन्तपुर दरवार स्क्वायरस्थित काल भैरवको मुर्ति अगाडि तान्त्रिक विधिअनुसार विशेष पूजाआजाको प्रक्रियापछि विधिवत् रूपमा इन्द्रजात्राको प्रारम्भ हुन्छ । लिंगोको फेदमा सुनको जलप लगाइएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा अर्चनाबाट यो जात्रा सुरु हुन्छ ।  

जात्राका क्रममा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गर्दै आठदिनसम्म मनाइन्छ।

इन्द्रजात्राको विधिवत् शुभ साइत इन्द्रध्वजाको लिङ्गो (योंसी)ल्याउन हनुमानढोका दरवारबाट गुठी संस्थान प्रतिनिधि, नेपाली सेना सहितको मानन्धरको टोली भक्तपुरको सुर्यविनायक नगरपालिकाको चित्तपोलमा रहेको इन्द्रजात्राको लिङ्गोसमुदायिक वन जाने गर्छ । यस कामलाई वन यात्रा भन्ने गरिन्छ । यही भदौ ९ गते बिहान ९ बजेर ४६ मिनेटमा वनयात्रा सुरु भएको थियो ।

त्यस दिन साँझ ९ बजेको साइतमा विधिवतरुपमा वनदेविको क्षमापूजा सहित कालो बोको बली दिने गरिन्छ । त्यस पछि लिङ्गो बनाउने सल्लाको रुख काटेर लिङ्गोको स्वरुप दिईने गरिन्छ । यसलाई वृक्षकर्तन भनिन्छ ।

गुठी संस्थान प्रतिनिधि, नेपाली सेना, सरोकारवालासहितको मानन्धरको टोली भक्तपुरको सुर्यविनायक नगरपालिकाको चित्तपोलमा पुग्ने गर्छन । उनीहरुले इन्द्रजात्राको लिङ्गो समुदायिक बनबाट लिङ्गोलाई डोरीको सहायताले तानेर ताथली, च्यामासिंङ, सुर्यविनायक, सल्लाघारी, ठिमी, कोटेश्वर, बानेश्वर हुँदै भोटाहिटीसम्म ल्याउने गर्छन ।  

यस वर्ष भदौ १५ गते बिहान ९ बजेर ५२ मिनेटमा पूजाआजा, बाजागाजा र नेपाली सेनाको हर्ष बढाईसहित लिङ्गो नगर प्रवेश गराइएको थियो । साथै मानन्धरहरुको समूहले लिङ्गोलाई डोरीको सहायताले तानेर हनुमानढोका लगिएको थियो । नगर प्रवेश गराईसके पछि शहरमा जात्राको रौनक थपिएको थियो ।

भदौ १९ गते बिहान १० बजेर ३१ मिनेटमा गुठी संस्थानबाट पूजाआजा होमसहित क्षमापूजा गरी ध्वजा पताकाहरूले सजाएको लिङ्गो लाई डोरीको सहायताले उठाएपछि उपत्यकामा विधिवत् रूपमा इन्द्रजात्राको प्रारम्भ भएको सूचाना प्रवाह गरिएको थियो । भदौ २१ गते कुमारी, गणेश र भरैव रथ यात्रा सुरु भई २६ गतेसम्म यो यात्राले निरन्तरता पाउने छ । यही भदौ २६ गते बेलुका १० बजेर ३२ मिनेटमा इन्द्र ध्वजपतन गरी जात्रा समापन गरिन्छ ।

प्रकाशित: २१ भाद्र २०८२ १६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App