२० मंसिर २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

काठमाडौंमा सुरु भो ङालाकेगू नाँच

नाँचका लागि आवश्यक मुकुण्डोलगायतका सामान खर्पणमा राखी भक्तपुरबाट काठमाडौं पुर्‍याउँदै नाँच्ने देवगणहरु ।

भक्तपुरको प्रसिद्ध ङालाकेगू (माछा मार्ने) जात्रा शनिबारदेखि काठमाडौंको पशुपति जयबागेश्वरी स्थानबाट सुरु भएको छ । भक्तपुर नगरको मानव समाजमा आधारित ऐतिहासिक महत्व बाकेको यो जात्रा यहाँ दुई दिनसम्म चल्ने परम्परा छ ।

जीवित रुपमा पुजिने प्रसिद्ध नेपालकै लामो यो जात्रा प्रत्येक वर्ष ८ महिना चल्ने गर्दछ । यस क्रममा यो जात्रा प्रत्येक वर्ष काठमाडौंबाट सुरु हुने गर्दछ ।

श्री नवदुर्गा देवगण भवानीको यो जात्रा बालाचह्रे (बाला चतुर्दशी) पछि नवमी र दशमीको दुई दिन पशुपतिनाथ मन्दिर र नवदुर्गा देवगन भेटघाट तथा प्रसाद आदानप्रदान गर्ने गर्दछ । यो क्रममा पशुपतिनाथका मुल पुजारीबाट नवदुर्गा भवानीलाई पुजा प्रदान गरी पशुपतिको जल र मूल प्रसाद भैरवको बाहुल्यतामा चढाउने चलन छ ।  

पशुपतिको मूल चोकमा देवगणको नाँचसँगै भित्रका सम्पूर्ण देवताहरुलाई भेटघाट गर्ने र पूर्वपतिको गुजेश्वरी देवतालाई नाँचको रुपमा भेट गरिने गरी दक्षिणतर्फमा रहेको शिवालय चोकमा मू बां लिकेगु जात्रा गरी पशुपति विकास क्षेत्रको मूल पुजा ग्रहण गर्ने चलन छ ।

यसैगरी जयबागेश्वरी मन्दिरमा पुगेर यस वर्षको सर्वप्रथम ङालाकेगु जात्राको लागि ख जुयगु (बास वस्ने) र रात्रीको नाँच प्रदर्शन गर्ने चलन छ ।

सोही दिनको भोलिपल्ट बिहानदेखि बाराही नाँच सिम दुमको माछा मार्ने नाँचसँगै माहाकाली नाँचबाट बेलुका सेतो भैरवले माछा मार्ने जात्रा गरी बेलुकासम्ममा सम्पूर्ण नाँच सम्पन्न गरी पुन: भक्तपुर नगरस्थित द्योछें (देवता घर) फर्किने चलन छ ।

पशुपतिमा देवता बनी जात्रा गर्ने देवगनहरुले आफ्नो देवताको मुकुन्डो, पोसाकदेखि आवश्यक सामानहरु खर्पन अथवा खमू राखेर बोक्दै हिँडेर जानुपर्ने परम्परा छ, जुन चलन अहिलेसम्म पनि जस्ताको तस्तै छ । त्यसै लगतै पुनः योमरी पुन्हीको दिनदेखि भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकामा पनि नवदुर्गाको ङालाकेगु जात्रा हुने गर्दछ । यो क्रममा मंसिर १८ बिहीबार योमरी पुन्हीको दिनदेखि मध्यपुर थिमिमा जात्रा हुँदैछ ।

मध्यपुर थिमिमा यो वर्ष योमरी पुन्हीको दिनमा भक्तपुर नगरपालिका वडा नम्वर ९ गछेंको द्योछें मन्दिरबाट देवगणहरुले सम्हेवजी ग्रहण गर्दै मुकुन्डोदेखि गरगहना पोसाकहरु खमूमा राखेर बोकी दिउसो ३ बजे मध्यपुर नगरपालिका प्रस्थान गरिन्छ । चार बजे दिगुली स्थानमा पुगेर सम्पूर्ण देवगणहरुले आ–आफ्नो पोसाक पहिरन गरी नवदुर्गा नाँच जात्रा सुरु हुने गर्दछ ।  

दिगुलीबाट नाँच प्रदर्शन गरी बेलुका मध्यपुरको बालकुमारी मन्दिर सटल पुगी बास बस्ने गरिन्छ ।

दोस्रो दिन मंसिर १९ गते बिहान आठ बजेदेखि मध्यपुरका चपाचो स्थानबाट गणेश कुमारी र सिमदुम चार जना देवगनहरुको टोली बाजासहित प्योमाद्यो नाँच प्रदर्शन हुने गरी निश्चित स्थानमा केही नाँच प्रदर्शन गरिन्छ । पुनः बालकुमारी मन्दिरमा फर्किदै बेलुका सम्पूर्ण देवगणहरुको लयाकुमा ख प्याख नाँच गरिन्छ ।

देवगनहरुमा १९ वटामध्ये खि, बाजा टं बाजा, कंस बाजा, भैरव, माहाकाली, बाराही, कुमारी, धोमा पोमी, दातीमा पोमी, झिमा पोमी, गणेश, ब्रमायणी, महेश्वरी, भद्रकाली, नकीं, बालकुमारी, दुम, सिम, श्वेत भैरव गनिन्छ । एवं क्रमले यो वर्ष मंसिर १९ देखि २४ सम्म नगरका विभिन्न भागहरुमा प्रदर्शन गरिने श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर ब्यवस्थापन संस्थाका सल्लाहकार नारायणमान बनमालाले बताए ।

सातौ अर्थात् अन्तिम दिन मंसिर २४ गते ङालाकेगु जात्राको रुपमा क्रमशः बाराहीको नाँच प्रदर्शन गरिन्छ । सोही लगतै शिम दुमको नाँच विभिन्न स्थान टोलहरुमा घुम्न सकेपछि ङालाकेगु पहिलो चरण सुरु हुने गर्दछ । ङालाकेगु जात्रा दुमले सम्पन्न गरे लगतै पुनः महाकाली नाँच प्रदर्शन सुरु गरिन्छ ।

महाकाली नाँच एक महिसासुर बध गर्ने नाँचको रुपमा लिइन्छ भने नारी क्रोध, नारी सुन्दरता भाव यस नाँचले प्रदर्शन गीतको बोल र बाजाको तालमा महाकाली नाँच गरिन्छ । साथै सोही नाँचसंगै माछा मार्ने श्वेत भैरवको आवमन हुन्छ । भाषाको तालमा गाटोकेगु जात्रा कुखुराको भाले बली दिने श्वेत भैरवको नाँचसँगै माछा मार्ने सुरु गरिन्छ ।

भक्तजनको सहभागिता धेरै हुने गरी हर्षउल्लासका साथ भाषाको तालमा माछा खाने, पेट दुख्ने, लुगाधुने जात्रा सम्पन्न गरी पुनः सम्पूर्ण देवगणहरुको अन्तिम नाँच गं दिगु नाँच प्रदर्शन गरी पुनः बालकुमारी मन्दिरमा पुगी देवगनहरुले आआफ्नो मुकुन्डोहरु द्योछेंमाथि राखेर आफ्नो पोसाक सहित चोकमा आएर सर्वप्रथम आरती बाली नाँच पनि मध्यपुर नपाबाट सुभारम्भ हुने प्रदर्शन गरी अन्तमा सम्पूर्ण भक्तजनलाइ विदावारीका साथ बेलुका राति भनपा मन्दिरमा देवताहरु बोकेर फर्किने चलन रहेको छ ।

भक्तपुर नगरमा भने यो नाँच प्रत्येक वर्ष माघ २ गतेदेखि प्रारम्भ हुने गर्दछ । यो नाँच काठमाडौं, भक्तपुर, मध्यपुर थिमिसहित काठमाडौंको साँखु, काभ्रेको साँगा, बनेपा, पनौतीलगायतका विभिन्न स्थानहरुमा पनि देखाउन लाने चलन छ ।

प्रकाशित: १३ मंसिर २०८२ १६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App