२२ मंसिर २०८२ सोमबार
image/svg+xml
धर्म/संस्कृति

भक्तपुरमा नेवारी परिकार ‘योमरी’ महाेत्सव

खाद्य परिकारलाई लिएर पनि उत्सव/महोत्सव हुन्छ भन्दा धेरैलाई पत्याउन गाह्रो पर्ला तर शनिबार भक्तपुरमा यस्तै भयो। नेवार समुदायमा लोकप्रिय खानाको परिकार ‘योमरी’ लाई लिएर दिनभर उत्सव भयो।

नेपाल भाषाको योमरीको अर्थ मनपर्ने रोटी हो। प्रत्येक वर्ष योमरी पुन्हीको दिन घरघरमा यो परिकार खाएर भोज खाइन्छ। यस वर्ष यो पर्व बिहीबार थियो।

पर्वको दुई दिनपछि भक्तपुर नगरपालिकाको आयोजनामा योमरी उत्सव भएको थियो। उत्सवमा पूरै भक्तपुर नगरवासी सहभागी थिए। यसैकारण दिनभर भक्तपुर नगर उत्सवमय बन्यो। उत्वसमा दशौं हजार नगरवासी सहभागी थिए। नगरका टोलटोल सांस्कृतिक प्रदर्शनीमय बनेको थियो। साथै ठाउँठाउँमा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीवितरण पनि भएको थियो।

योमरी उत्सव प्रतियोगितात्मक रूपमा पनि थियो। यसका लागि प्रतिस्पर्धीहरूले घरघरबाट योमरी बनाएर भक्तपुर नगरपालिका वडा नं ९ दतात्रयमा योमरी प्रदर्शनीमा सहभागी भएका थिए। ती प्रतिस्पर्धी योमरीको मूल्यांकन गरी पछि उत्कृष्टलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने आयोजक भक्तपुर नगरपालिकाले जनाएको छ। प्रतियोगितामा ६८ वटाले स्टल राखेर प्रतिस्पर्धामा सहभागिता जनाएका थिए।

उत्सवका क्रममा नगरका ठाउँठाउँमा बाटोमै योमरी पकाउने र इच्छुकहरूले किनेर खान सकिने व्यवस्था थियो। साथै अन्य विभिन्न परिकार पनि किनेर खान सक्ने व्यवस्था थियो। साथसाथै स्थानीय विभिन्न उत्पाद जस्तै - भादगाउँले टोपी, तोरीको तेल, परालबाट बनेका सुकुललगायतका स्थानीय उत्पादनको पनि ठाउँठाउँमा प्रदर्शनीका साथै बिक्रीवितरण पनि भएको थियो।

उत्सवको उद्घाटन नगरको दतात्रयमा दिउँसो नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले गरेका थिए। अध्यक्ष बिजुक्छेंले नगरपालिकाद्वारा आयोजित सांस्कृतिक गतिविधिले भक्तपुरको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले योमरी उत्सवलाई प्रतियोगिताका रूपमा सञ्चालन गरी सबैलाई मौलिकता प्रदर्शन गर्ने अवसरका रूपमा कार्यक्रम आयोजना गरिएको बताए।

भक्तपुर नगरपालिकाले यहाँको मूर्त र अमूर्त सम्पदाहरूको महत्व नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले नगरभित्र सञ्चालित सबै विद्यालयमा स्थानीय पाठ्यक्रममार्फत अध्ययन–अध्यापन गराइरहेको उनले बताए।

कार्यक्रम उद्घाटनअघि नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नगवरपालिका वडा नं १ इनागबाट सांस्कृतिक र्‍याली सुरु भएको थियो। र्‍यालीले नगर परिक्रमा गरी उद्घाटनस्थल दत्तात्रय पुगेको थियो।

प्रकाशित: २१ मंसिर २०८२ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App