२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
धर्म/संस्कृति

पशुपति क्षेत्रबाट नारायणटारसम्म जगन्नाथ रथयात्रा

अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) चावहिल शाखाले पशुपति क्षेत्रको चावहिलबाट गोकर्णेश्वर नगरपालिकाको नारायणटारसम्म जगन्नाथ रथयात्राको आयोजना गरेको छ ।

इस्कोन चावहिल शाखाले प्रत्येक वर्षको मङ्सिर महिनाको शनिबार पारेर राजधानीमा रथयात्रा गर्खै आएको छ । द्वापरयुगमा गोपिनीले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा निकाल्न सुरु गरिएको इस्कोन चावहिल शाखाका सचिव जीवदया गौराङ्गदासले जानकारी दिए ।  

जगन्नाथ रथयात्रा चावहिलबाट चुच्चेपाटी, टुसाल, बौद्ध, पीपलबोट, जोरपाटी हुँदै टुँडिखेलमा पुगेर समापन गरिएको उनले बताए ।

समापनपछि नारायणटारमा प्रसाद पनि वितरण गरिएको थियो । यात्राका क्रममा विभिन्न स्थानमा भगवान् श्रीकृष्ण, बलराम र बहिनी सुभद्रालाई ५६ भोग पनि लगाइएको थियो ।

आषाढ शुक्ल द्वितीयाका दिन भारतको जगन्नाथपुरीमा रथयात्रा गरिने दिन इस्कोन केन्द्रीय कार्यालयको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सहरका विभिन्न भाग परिक्रमा गराउँदै टुँडिखेलसम्म रथयात्रा गरिन्छ । यो दिन नेपालसहित १६५ देशमा पनि यो यात्रा गर्ने परम्परा रहिआएको सचिव गौराङ्गदासले बताए ।

आषाढ शुक्ल द्वितीयाको दुई हप्तापछि भक्तपुरमा पनि जगन्नाथ रथयात्रा गर्ने गरिएको छ । जगन्नाथ रथयात्राका बारेमा महाभारतलगायत विभिन्न पुराण र धर्मशास्त्रका ग्रन्थमा पनि उल्लेख गरिएको इस्कोनले जनाएको छ । यो रथयात्रामा कृष्ण, बलराम र सुभद्रालाई राखेर घुमाउने गरिएको गरिन्छ । यस रथयात्रामा हजारौँ भक्तजन सहभागी हुने गर्दछन् ।

 

 

प्रकाशित: ६ मंसिर २०८२ २१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App