सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले कालगणना सुरु गरेको स्मरणमा आज ज्योतिष दिवस मनाइँदै छ।
चैत्र शुक्ल प्रतिपदाका दिन काल अर्थात् समय गणना सुरु भएको विषय ‘ब्रह्मपुराण’मा उल्लेख भए अनुसार ‘कालमाधव’ नामक ग्रन्थमा भनिएको छ -
चैत्रे मासि जगद्ब्रह्मा ससर्ज प्रथमेऽहनि।
शुक्लपक्षे समग्रं तु तदा सूर्योदये सति।।
तदा प्रवर्तयामास कालस्य गणनामपि।।
अर्थात् चैतको शुक्ल पक्षको पहिलो दिन, सूर्योदयको समयमा ब्रह्माले सृष्टिको निर्माण गरे र त्यही समयदेखि कालगणनाको प्रारम्भ पनि गरे। यसै प्रमाणका आधारमा विसं २०८० देखि नेपालमा चैत्र शुक्ल प्रतिपदाको दिनलाई ज्योतिष दिवसका रुपमा मनाउन थालिएको हो। यस वर्ष तेस्रो ज्योतिष दिवस मनाउन लागिएको छ।
यस अवसरमा आज नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति लगायत ज्योतिषसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले विविध कार्यक्रम आयोजना गरी ज्योतिष दिवस मनाउँदै छन्। समितिले आज दिउँसो १ बजे नारायणहिटीस्थित समितिको कार्यालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थितिमा कार्यक्रम आयोजना गरेको कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले बताए।
प्रकाशित: ५ चैत्र २०८२ १२:४७ बिहीबार





