२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

कहीँ नभएको जात्रा, हाँडीगाउँमा

‘कहीँ नभएको जात्रा, हाँडीगाउँमा’ भन्ने उखान नेपाली जनजिब्रोमा प्रचलित छ। यही अर्थात् चोक्काथुनारायणको जात्रा हेर्न यतिबेला हाँडीगाउँ क्षेत्रमा दर्शकको घुइँचो छ।

काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने यो जात्रा हेर्न धेरै मानिस हाँडीगाउँ क्षेत्रमा जम्मा भएका छन्।

प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रुपमा मानिँदै आएको छ।

यो जात्रालाई तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिन्छ। देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो।

चोकेटनारायण समेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गा समेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो। गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको उल्लेख छ।

मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेख अनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो। चोक्काथुनारायणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँः एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहेको यज्ञनाथ आचार्यले जानकारी दिए।

जात्रा सुरु भएका सम्बन्धमा एउटा किम्बदन्दी प्रचलित छ। जनश्रुतिअनुसार मध्यकालमा हाँडीगाउँमा दुई दिदीबहिनी थिए। दिदी भगवान्प्रति पूर्णरुपमा आस्था राख्थिन् भने बहिनी घमण्डी हुनुका साथ भगवान्प्रति पनि उनको आस्था थिएन।

विवाहपछि दुवै दिदीबहिनी गर्भवती भए। दिदीले समयमै बच्चा जन्माइन्। बहिनीको गर्भ रहेको बाह्र वर्षसम्म पनि बच्चा जन्मिएन  बहिनीले श्रीमान्सहित नारायणको आराधना गरिन्। 

सपनामा बूढानीलकण्ठ नजिकको पहाडमा रहेको नारायणको मूर्ति ल्याई उल्टो छाताकारका तीन खटको जात्रा चलाउनु तब तिमीहरुको उद्धार हुनेछ भन्ने आज्ञा प्राप्त भयो।

गर्भ रहेको बाह्र वर्षसम्म बच्चा नजन्मिएको दम्पतीले त्यसबेलाका राजा नरेन्द्र मल्लसँग गुहार मागे। राजआज्ञा बमोजिम तान्त्रिकहरु धिमे बाजा बजाई रङ्गी बिरङ्गी लुगा लगाएर बुढानीलकण्ठ नजिकको पहाडमा गए।

मैनको फूल चढाई नारायणको आराधना गरे। चोक्काथुनारायण (तीननारायण) जात्राको परम्परा चलाउने वचन दिए। नारायणलाई हाँडीगाउँ ल्याई यहाँका जनतालाई पर्ने दुःख तथा पीडालाई अन्त गर्न भनी चोक्काथुनारायण (तीननारायण) मन्दिर स्थापना गरे। यसै बेलादेखि जात्राको पनि सुरुवात भयो।

मन्दिर स्थापना भएपछि प्रशव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने गरेको स्थानीयवासीको अनुभव छ।

नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने धारणा अहिले पनि रहेको सांस्कृतिक अन्वेषक आचार्यले सुनाए।

नारायणको जात्रा कमलासनको तीन खट (बाबु, आमा, छोरा) बनाई खटको गजुरलाई उल्टो पारी घुसारेर तीन टोल घुमाई गजुर घुसारेको स्थानमा पूजा गरिन्छ।

यो जात्रामा पाँच जनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नुपर्ने प्रचलन छ। जात्रा हेर्न हाँडीगाउँ क्षेत्रका सबै गुठियार जम्मा हुनुपर्ने नियम रहेको जनाइएको छ।

प्रकाशित: २३ आश्विन २०८२ १९:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App