अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) नेपालले आफ्नो ४०औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सवको आयोजना गर्ने भएको छ।
आगामी असार १३ गते शुक्रबार काठमाडौंमा आयोजना हुने उक्त रथयात्राको शुभारम्भ राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन्।
इस्कोन बूढानीलकण्ठले जारी गरेको विज्ञप्ति अनुसार, राष्ट्रपति पौडेल प्रमुख अतिथिको रूपमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने उद्घाटन समारोहमा सहभागी हुनेछन्।
त्यहाँ उनले भगवान् श्री जगन्नाथ, बलदेव र सुभद्रा महारानीको पूजा-आरती गर्नुका साथै इस्कोनका संस्थापक आचार्य श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपादलाई माल्यार्पण गरी सम्मान प्रकट गर्नेछन्।
रथयात्राको सबैभन्दा विशेष क्षणमा राष्ट्रपति पौडेलले ऐतिहासिक परम्पराको निरन्तरता दिँदै रथ हिँड्ने बाटोमा सुनौलो झाडुले प्रतिकात्मक रूपमा बढारेर (मार्जन) रथयात्राको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ। यस परम्परा जगन्नाथ पुरीका राजाले गर्ने गरेको ऐतिहासिक प्रचलनको निरन्तरता भएको इस्कोनले जनाएको छ।
बिहान १० बजे कमलादीबाट सुरु हुने रथयात्रा घण्टाघर, दरबारमार्ग, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, न्यूरोड र वसन्तपुर हुँदै टुँडिखेलमा पुगेर समापन हुनेछ।
रथयात्रामा हजारौँ भक्तजनले भगवान् विराजमान रथलाई डोरीले तान्दै, मृदङ्ग र करतालको तालमा हरिनाम संकीर्तन गर्दै नगर परिक्रमा गर्नेछन्।
इस्कोनका सचिव हरेन्द्र ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो रथयात्रा केवल धार्मिक अनुष्ठान मात्र नभई समाजमा प्रेम, करुणा र आध्यात्मिक ज्ञान फैलाउने अवसर हो।’
रथयात्राको समापनपछि टुँडिखेलमा सहभागी सम्पूर्ण भक्तजनका लागि निःशुल्क महाप्रसाद वितरण गरिनेछ। साथै, बालबालिकादेखि वृद्धवृद्धासम्मलाई लक्षित गरी भजन, नृत्य तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्।
प्रकाशित: १० असार २०८२ १५:४६ मंगलबार





