२० पुस २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

मुस्लिम धर्मावलम्बीले मनाए बक्राइद

कपिलवस्तुका मुस्लिम धर्मावलम्बीले दोस्रो प्रमुख चाड बक्राइद मनाए। मुलुकको राजनीतिक स्थिरता, शान्ति अमनचयनको कामना गर्दै उनीहरूले इद उल अजाहा बक्राइद शनिबार मनाएका हुन्। उनीहरूले आपसमा शुभकामना आदानप्रदान गरी बक्राइद मनाए। अरबी क्यालेन्डरअनुसार हिजरी संवत्को जिलहिज्जा महिनामा बक्राइद पर्ने गर्दछ।

मुस्लिमहरूको अधिक बसोवास रहेको यहाँका इदगाहा, करबला, मदरसाहरूमा विशेष नमाज पाठ गरी घरघरमा खसीको बलिपूजा गरी मनाएकामुस्लिमहरूको सबैभन्दा ठूलो चाड इद र रमजान मनाएको ७० दिनपछि बक्राइद आउने गर्छ।

सदरमुकाम कपिलवस्तु नगरपालिका– १ मस्जिद टोलस्थित इदगाहा तथा छोटकी तौलिहवा, देवनगढिया, अभिराव, कृष्णनगरलगायत जिल्लाका विभिन्न स्थानमा रहेका मस्जिदमा उनीहरूले बिहान सामूहिक नमाज पढेका थिए। बक्राइदमा खसीहरूको बलि दिई आफन्त, नातागोता तथा इष्टमित्रसँग खुसी साटेर मनाइने गरिन्छ।

बकराइदका लागि मुस्लिम समुदायले खसीको बलि दिने गर्छन्। यो चाड तीन दिनसम्म मनाउँछन्। आफ्ना अनुयायी हतरत इबलहिस सलामलाई अल्लाहले सबैभन्दा प्रिय चिज कुर्बानी गर्न गरेको अल्लाहको आदेशअनुासार उनले आफ्नो छोरा इस्माइल अलहिस सलामलाई बलि दिन खोजेका थिए। त्यसै बेला अल्लाहको आशीर्वादले छोराको ठाउँमा दुम्भ अर्थात् भेडाजस्तो देखिने चौपाया बलिका लागि पठाएका थिए। यसैको स्मरणमा बक्राइद मनाइन्छ। साउदी अरबस्थित हज अराफात भन्ने पर्वतमा गई हजयात्रीले बलि दिने चलन रही आएको मुस्लिम धर्म गुरु बताउँछन्।

साढे ५२ तोला चाँदी र साढे सात तोला सुन भएको मुस्लिमले अनिवार्य खसी वा राँगा बलि दिनुपर्ने प्रावधान छ। बलि दिइएका खसीमध्ये एक भाग गरिब गुरुवा, एक भाग आफन्त र नातगोता तथा एक भाग बलि दिनेले राख्ने चलन छ।

बक्राइदकै अवसरमा साउदी अरबस्थित मक्कामदिनामा हज जाने गर्दछन्। मुस्लिमका पाँच स्तम्भमध्ये हजलाई पनि एक मानिएको छ। यस वर्ष कपिलवस्तुबाट ८९ सहित नेपालबाट एक हजार एक सय ७१ जना बढी साउदी अरबस्थित मक्का मदिना गएका छन्।

बक्राइदका अवसरमा जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू शुभकामना दिन इदगाहा पुगेका छन। कांग्रेस, एमाले र जनता समाजवादी पार्टीका नेता तौलिहवास्थित बसपार्कछेउमा रहेको इदगाहास्थलमा शुभकामना दिन पुगेका हुन्।

शुभकामना दिनेमा लुम्बिनी प्रदेश सदस्य सुधार पाण्डेय, एमाले नेता बृजेश गुप्ता, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल रहेका थिए। मस्जिदमा १५ सय बढी मुस्लिम समुदायले सामूहिक नमाज पढेका थिए। सो अवसरमा मुस्लिम अगुवा रउफ अहमद खाँले नेताहरू इदगाहस्थलमै शुभकामना दिन आएकोमा खुसी व्यक्त गर्दै मुस्लिमहरूको अधिकारका लागि साथ दिन आग्रह गरेका थिए।

प्रकाशित: २५ जेष्ठ २०८२ ११:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App