मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) आज यहाँको विपी चोकस्थित इदगाहमा हर्षोल्लासका साथ मनाइएको छ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक परम्पराअनुसार इदगाहमा भेला भएर सामूहिक नमाज पढिएको छ। इदगाहभित्र ठाउँ साँघुरो भएकाले धेरैजसो सडकमा बसेर नमाज पढेका थिए। बिहानै स्नान गरेर नजिकको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्ने र त्यसपछि एकअर्कासँग शुभकामना साटासाट गर्ने गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले बताए।
उनले यो पर्वको विशेषता गरिब समुदायको उत्थान रहेको बताउँदै कुर्बान (बलि) गरिएको मासुलाई तीन भागमा बाँडेर इष्टमित्र, आफन्त र गरिब तथा विपन्न समुदायलाई वितरण गरिने जानकारी दिए। हिजरी संवत्अनुसार १४४० वर्षअघि अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइललाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो।
नेपालगञ्जका स्थानीय हलिम खानले यो पर्वको ऐतिहासिक महत्त्व रहेको र कुर्बान गर्ने प्रचलनसँग जोडिएको बताए। धार्मिक मान्यताअनुसार अल्लाहका नवी इब्राहिमले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त छोरा इस्माइललाई कुर्बान गर्नुपर्ने आदेश पाएका थिए।
त्यसलाई पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माइलको सट्टा स्वर्गमा पालिएको दुम्बाको कुर्बान भएको मान्यता छ। त्यसैले अहिलेसम्म कुर्बानको प्रचलन कायम छ। निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनोकामना मागेका थिए।
कुर्बान गरेको मासु तीन भागमा बाँडिन्छ। एक भाग गरिब र विपन्न परिवारलाई, अर्को भाग इष्टमित्रलाई र तेस्रो भाग आफैँले खाने मुस्लिम धार्मिक मान्यता छ।
प्रकाशित: २४ जेष्ठ २०८२ ११:४२ शनिबार





