मिथिला क्षेत्रमा आज बटुवालाई सातु र सर्वतले स्वागत गरिएको छ। वैशाख शुक्ल तृतीयामा मनाइने अक्षय तृतीया पर्वमा बिहानैदेखि सातु र सर्वत प्रदान गरिएको छ।
गर्मीमा पसिना चुहाउँदै हिँड्ने बटुवालाई जौको सातु र सक्खर, मिश्री, मरिच र शीतल जल मिसाएर बनाइएको सर्वत दान गर्दा कहिल्यै नास नहुने पुण्य प्राप्त हुने विश्वास छ। यो पर्वमा कुनै जात, धर्म, सम्प्रदाय वा लिङ्गको भेदबिना सातु र सर्वत दान गरिन्छ। मिथिला क्षेत्रका गाउँबस्तीका चोकमा मैथिल र मिथिलानी सातु र सर्वत लिएर बसेका छन्।
‘गर्मी छ, बाटो हिँड्नेले समयमा खाना र पानी पाउँदैनन्,’ भङ्गाहा–४ रामनगरकी ७५ वर्षीया जानकीदेवी भन्छिन्, ‘बटुवाले गर्मीमा सातु र सर्वत खान पाउँदा आशीर्वाद दिन्छन्।’
यो पर्वमा सातुका थैला र सर्वतका घडा दान गर्ने परम्परा छ। मिथिला परम्पराका जानकार याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायणलाल कर्ण भविष्य पुराणमा अक्षय तृतीयाको वर्णन भएको बताउँछन्। भगवान् शिव र पार्वतीको विवाह भएको दिन मानिने यो पर्वमा ब्राह्मण र गरिबलाई स्वर्ण, अन्न र वस्त्र दान गर्दा सुख, सौभाग्य र धन वृद्धि हुने धार्मिक मान्यता छ।
गर्मीमा पसिनाले शरीर शिथिल हुने भएकाले चिनीको मात्रा सन्तुलन राख्न सक्खर र चिनीमा बनाइएको शीतल सर्वत र पोषक जौको सातुको प्रयोगमा यो पर्वले जोड दिएको छ। शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरूको अन्नप्राशन र विवाहजस्ता शुभ कार्यका लागि साइत हेर्न नपर्ने मैथिल मान्यता छ। रासस
प्रकाशित: १७ वैशाख २०८२ १०:२६ बुधबार





