त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।
भारतको मणिपुर घरका २० वर्षीया मोनादेवी ह्लाजोम र २३ वर्षीया ओनियम एली आज गाँजासहित पक्राउ परेका हुन्।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनीहरूको ‘सुटकेस’ तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
यसैबीच, नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३३ जना पक्राउ गरेको छ।
प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट छ, जुम्ला, मोरङ, कञ्चनपुर, चितवन र दाङबाट तीन÷तीन, रुपन्देही र काठमाडौंबाट दुई/दुई, सुर्खेत, बर्दिया, कैलाली, सर्लाही, भक्तपुर, बारा, सल्यान र सुनसरीबाट एक÷एक जना पक्राउ परेका छन्।
प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइन ट्रामाडोल, भोमिन र एनारगन बरादम गरेको छ।
प्रकाशित: ७ श्रावण २०८३ १७:१६ बिहीबार





