त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट करिब ११ किलो २७० ग्राम अवैध लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद र ४४ वर्षीय अफसाना अमीर हुसेन शेख छन्। केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले मोहम्मद जुनैद र समीना अख्तर बैग मिर्जाबाट करिब तीन किलो ८७० ग्राम तथा अफसाना अमीर हुसेन शेखबाट करिब सात किलो ४०० ग्राम गाँजा बरामद गरेको हो। तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।
चोरीका मोटरसाइकलका पार्टपुर्जा जडान गर्ने तीन पक्राउ
प्रहरीले चोरीका मोटरसाइकलका पार्टपुर्जा निकालेर बिक्री गर्ने तथा अन्य मोटरसाइकलमा जडान गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका–६ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँची शीतगङ्गा गाउँपालिका–२ घर भई बूढानीलकण्ठ नगरपालिका–६ हात्तीगौडा बस्ने २८ वर्षीय नरबहादुर चित्रे तथा बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने ३८ वर्षीय करण खड्गी छन्।
बा प्र ०२–०१६ प ६१४३ नम्बरको मोटरसाइकल बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडा र काठमाडौँ महानगरपालिका–२२ सङ्कटा मन्दिर क्षेत्रमा पार्किङ गरी राखिएको अवस्थामा चोरी गरी पार्टपुर्जा बिक्री तथा अन्य मोटरसाइकलमा जडान गरिएको सूचनाका आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अमेरिका लैजाने भन्दै ठगी गर्ने एक पक्राउ
अमेरिका लैजाने भन्दै रकम ठगी गर्ने एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्दै आएकी ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल छन्। उनले अमेरिका लैजाने भन्दै एक जनाबाट ६ लाख ३० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो।
उनीलाई ललितपुर महालक्ष्मी नगरपालिका–४ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ।
प्रकाशित: ८ फाल्गुन २०८२ १६:५५ शुक्रबार





