वीरगञ्ज महानगरपालिका–१६ फुलवारी टोलस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन्।
मंगलबार राति करिब ९:४५ बजे विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले रोशन रौनियारले सञ्चालन गरेको होटलमा छापा मारी तीन जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा वीरगञ्ज–१६ का २० वर्षीय रोहित रौनियार, ३० वर्षीय श्यामबाबु राय र वडा नं.१५ का २५ वर्षीय अनन्तकुमार गुप्ता रहेका छन्।
उनीहरूका साथबाट नगद रु. ५० हजार ७ सय ५५ र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।
जुवा खेलिरहेको अवस्थामा पक्राउ परेकामाथि आवश्यक अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रकाशित: २७ आश्विन २०८२ १७:५७ सोमबार





