२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

सार्वजनिक ट्रेलरका कारण ‘रमिताको पिरती’ चर्चामा

आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रमिताको पिरती’ सार्वजनिक ट्रेलरका कारण चर्चामा छ। नेपाली फिल्ममा प्राय: लिड रोल अभिनेताको हुने गर्छ तर उक्त चलचित्रको विषय रमितामा केन्द्रित छ।

साँचो पिरतीको खोजीमा रहेकी रमिताको जीवनमा आउने उतारचढाव फिल्मको विषय हो। फिल्ममा आना शर्माले रमिताको भूमिका निर्वाह गरेकी छन्। उनीसँगै फिल्ममा धिरज मगर र विनय श्रेष्ठको अभिनय छ। यसै फिल्ममार्फत गायक समीर श्रेष्ठले पनि अभिनय यात्राको सुरुआत गरेका छन्। यी तीनकै सेरोफेरोमा फिल्म घुमेको छ।

फिल्ममा आना अभिनेत्री मात्र नभई कार्यकारी निर्माताको भूमिकामा पनि छिन्। महिला केन्द्रित फिल्ममा पहिलोपटक देखिएकी आनाले ब्रेकअपपछि आफूलाई चिन्ने, स्वीकार्ने र रोज्ने एउटा भावनात्मक यात्राको कथा फिल्ममा रहेको बताइन्।

‘रमिता पात्रको भावनात्मक यात्रा केन्द्रमा राखेर कथा अघि बढाइएको छ। फिल्म ब्रेकअपबाट सुरु भए पनि यो ब्रेकअपको कथा मात्र नभई, त्यसपछिको आत्मखोज, आत्मसम्मान र आत्मस्वीकृतिको यात्रा हो। हामीले नियमित फिल्मभन्दा केही फरक रूपमा फिल्म तयार गर्ने कोसिस गरेका छन्’, आनाले भनिन्।

उनले यस फिल्ममा देखिएको पात्र ’रमिता’ लाई तयार गर्न निर्देशक सुदिप्ताको साथ लिएकी थिइन्। ‘मैले छ महिना निर्देशकसँग बसेर उक्त पात्रलाई डेभलप गरेर, एक्सप्लोर गरेर एडप्ट गरेकी थिएँ, अहिले फिल्म रिलिज हुने बेला आउँदा उत्साहित छु। यो फिल्म, पात्र र भूमिका निकै खास छ, आश छ हामीले देखाएको स्टोरी पर्दामार्फत दर्शकसम्म पुग्ने छ’, उनले भनिन्।

उनले फिल्म निर्माणको सुरुआतमा कलाकारका रूपमा मात्र स्क्रिप्ट सुनेर प्रोजेक्टमा आबद्ध भए पनि पछि निर्देशक सुदिप्ता र निर्माता सागर लम्सालसँग नजिकबाट काम गर्दै कार्यकारी निर्माताको भूमिका पाएको बताइन्।

‘सुरुमा हाम्रो कोर टिम नै सानो थियो। दैनिक मिटिङ, वर्कसप हुँदै सँगै निर्णय लिने अवस्थामा पुग्यौं। निर्माता सागरजीले ममाथि विश्वास गरेर एक्जिक्युटिभ प्रोड्युसरको जिम्मेवारी दिनुभयो, जुन मेरा लागि सिकाइको ठूलो अवसर बन्यो’, उनले भनिन्।

उक्त भूमिकाले आफूलाई नयाँ किसिमको चाप र रचनात्मक स्वतन्त्रता दुवै दिएको आना बताउँछिन्। ‘जिम्मेवारी धेरै हुन्छ तर क्रिएटिभ फ्रिडम पनि उत्तिकै रमाइलो रहेछ,’ उनले आफ्नो अनुभव सुनाइन्।

फिल्मले विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै महत्त्वपूर्ण सन्देश दिने शर्माको विश्वास छ। ‘पहिला आफूलाई माया गर्नुपर्छ, आफूलाई केयर गर्नुपर्छ अनि मात्र अरूलाई माया दिन सकिन्छ भन्ने सन्देश फिल्मले दिन्छ’, उनले भनिन्।

सोसल मिडियाको प्रभाव, बाह्य भ्यालिडेसनको खोजी र त्यसले व्यक्तिको मानसिक अवस्थामा पार्ने असर पनि फिल्मले चित्रण गर्ने उनले बताइन्। रमिताको पात्र पनि एक चरणमा अरूको स्वीकृतिमा निर्भर हुने देखाइन्छ, जुन आजको पुस्तासँग गहिरो रूपमा सम्बन्धित रहेको उनको भनाइ छ।

फिल्ममा समिर र आनाले निभाएका पात्रहरूको प्रेम सम्बन्धलाई गीतमार्फत प्रस्तुत गरिएको छ। ती गीतहरू प्रेमको सुरुआती चरण र पात्रहरूको कनेक्सन देखाउन केन्द्रित छन्।

आनाका लागि ‘रमिताको पिरती’ विशेष हुनुका तीन कारण छन्। पहिलो यो पूर्ण रूपमा महिलाको कथा हो, दोस्रो महिला निर्देशकद्वारा लेखिएको र निर्देशित फिल्म हो र तेस्रो उनले पहिलो पटक कार्यकारी निर्माताको भूमिकामा काम गर्न पाएकी छन्।

सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आर.पी. प्रोडक्सन एसोसिएट निर्माता, निर्देशक समेत रहेका सुवास कोइराला सहनिर्माता छन् भने सागर लम्साल निर्माता छन्।

फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको सङ्गीत छ। शिशिर विशंखे डीओपी रहेको फिल्मको सम्पादन सुनिल सिवाकोटीले गरेका छन् भने कपिल पराजुलीको कलर र कृतिका बरालको कोरियोग्राफी छ। काठमाडौं उपत्यकामा फिल्मलाई रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।

प्रकाशित: १५ माघ २०८२ ११:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App