वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी 'युके पठाइदिन्छु' भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा दाङ राप्ती गाउँपालिका-१ बस्ने प्युठान, प्युठान नगरपालिका-९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका ४० वर्षीय आईते तामाङ र काठमाडौं महानगरपालिका-१५ बस्ने ३४ वर्षीय बिजय गुरुङ रहेका छन्।
पक्राउ मध्ये इन्द्र र आईतेले युके पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट १३ लाख रुपैयाँ र बिजयले युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इन्द्र र आईतेलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट बिहीबार तथा बिजयलाई काठमाडौं महानगरपालिका-१४ बाट आइतबार पक्राउ गरेको हो।
पक्राउ मध्ये इन्द्र र आईतेलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा बिजयलाई वैदशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
प्रकाशित: २१ पुस २०८२ १३:३१ सोमबार




