५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अपराध

लोभले बढाएको संकट: अवैध सामान छुटाउन गएका कलवार आफैं जेलमा

सुन तस्करीदेखि हुण्डी कारोबारसम्म, अवैध गतिविधिमा संलग्न गिरोहहरूले गरिब नागरिकलाई ‘भरिया’ बनाएर आफू भने उम्किने प्रवृत्ति बढ्दो देखिएको छ। पछिल्ला घटनाहरूले तस्करहरूले कानुनी कारबाहीबाट बच्न विभिन्न व्यक्तिलाई प्रयोग गर्दै आएको तथ्य बाहिर आएको छ।

तस्कर समूहहरूले आफ्नो पहिचान लुकाउन गरिब व्यक्तिहरूको नाममा फर्म दर्ता गराउने, तिनैको नामबाट कारोबार सञ्चालन गर्ने र ठूलो परिमाणमा सामान ओसारपसार गराएर राजस्व छली गर्ने गरेको पाइएको छ।

हालै राजस्व अनुसन्धान कार्यालय पथलैयाले नियन्त्रणमा लिएको भन्सार छलीको दुई ट्रक कपडाको घटनाले यस्तै जालोको पर्दाफास गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार तस्करहरूले पैसाको प्रलोभनमा पारेर सर्वसाधारणको नाममा फर्म खोल्ने र सोही माध्यमबाट अवैध कारोबार गर्ने गरेका छन्।

दैनिक ज्यालादारी गरेर जीविका चलाउने वीरगञ्ज महानगरपालिका–२५, सिर्सियाका दिलिप साह कलवार अहिले तस्करको गिरोहमा छिरेर कारागार जीवन बिताइरहेका छन्। उनको नाममा दर्ता गरिएको ‘सफल ट्रेडर्स’ मार्फत भारतबाट अवैध रूपमा ल्याइएको कपडा काठमाडौं पठाउने क्रममा सिन्धुलीको भिमानबाट दुई ट्रकसहित नियन्त्रणमा लिइएको थियो।

राजस्व अनुसन्धानको टोलीले फागुन ४ गते बर्दिवास–काठमाडौं सडक खण्डमा ती ट्रकहरूलाई कपडासहित नियन्त्रणमा लिएको थियो। प्रारम्भिक रूपमा ट्रक चालकहरूलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको भए पनि पछि धरौटीमा छाडिएको थियो।

अनुसन्धानका क्रममा दिलिप साह स्वयं उपस्थित भई कपडा आफ्नो फर्मको भएको स्वीकार गरेका थिए। त्यसपछि राजस्व अनुसन्धान कार्यालयले कपडाको मूल्य बराबर दुई करोड ३६ लाख रुपैयाँ धरौटी माग गरेको थियो।

तर सो रकम बुझाउन नसकेपछि उनलाई फागुन १७ गतेदेखि पुर्पक्षका लागि वीरगञ्ज कारागार पठाइएको छ। स्रोतका अनुसार उनले सामान आफ्नो भएको स्वीकारेपछि कानुनी प्रक्रिया अघि बढाइएको हो।

राजस्व अनुसन्धान विभागका महानिर्देशक तिर्थ चिलुवालका अनुसार ट्रकहरू नियन्त्रणमा लिइएको हो र घटनाको विस्तृत अनुसन्धान जारी छ। उनले मुख्य कारोबारीसम्म पुग्ने गरी अनुसन्धान अगाडि बढाइएको पनि बताएका छन्।

कारागारमा रहेका दिलिपले भने आफूलाई प्रयोग गरिएको दाबी गर्दै केही व्यक्तिले आफ्नो नाममा कारोबार गरी पछि धरौटी तिरेर छुटाइदिने आश्वासन दिएको बताए। तर हालसम्म सो सहयोग नपाउँदा उनी जेलमै छन्।

यस घटनाले तस्करी गिरोहले गरिब नागरिकलाई प्रयोग गरेर कानुनी जिम्मेवारी उनीहरूमाथि थोपर्ने प्रवृत्ति गम्भीर रूपमा बढेको संकेत दिएको छ।

पर्साको वीरगञ्ज, बाराको सिम्रौनगढ, रौतहटको गौर र सर्लाहीको मलंगवालगायत क्षेत्रमा दैनिकजसो भन्सार छलीका सामान बरामद भइरहेका छन्। यसले सीमा क्षेत्रमा सक्रिय तस्करी सञ्जाल अझै प्रभावकारी रूपमा सञ्चालन भइरहेको देखाउँछ।

विशेषज्ञहरूका अनुसार यस्तो अवस्थाले गरिब र अशिक्षित नागरिकहरूलाई सजिलै जालमा पार्ने जोखिम बढाएको छ। त्यसैले तस्करी नियन्त्रणसँगै सचेतना अभिवृद्धि र वास्तविक मुख्य कारोबारीमाथि कडा कारबाही आवश्यक देखिएको छ।

प्रकाशित: ५ चैत्र २०८२ १५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App