२२ पुस २०८२ मंगलबार
image/svg+xml
अपराध

लागुऔषध कारीबारीलाई नियन्त्रणमा लिन गोली चलाइयो

लागुऔषध नियन्त्रणको अभियानअन्तर्गत बाँके प्रहरीले हवाई फायर गरी एक लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेश, बहराइच जिल्लाको रुपैडिया थानामा बसोबास गर्दै आएका ३५ वर्षीय इलिहास अहमदलाई प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर नजिकबाट नियन्त्रणमा लिएको हो ।  

लागुऔषध ब्राउनसुगर खरिदबिक्रीको गतिविधि चलाइरहेको भन्ने शंकास्पद सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ब्युरोका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले गणेशपुर क्षेत्रमा उनलाई फेला पारेर कानुन बमोजिम चेकजाँच गर्न खोज्दा अहमदले भाग्ने प्रयास गरेका थिए ।  

भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन कठिनाइ भएपछि प्रहरीले टाइप–५४ प्रकारको चापेबाट तीन राउन्ड हवाई फायर गरी परिस्थितिलाई नियन्त्रणमा ल्याएको जनाएको छ । त्यसपछि उनलाई पक्राउ गरी तलासी लिँदा उनले लगाएको कालो ज्याकेटको अगाडिको दाहिने खल्तीमा लुकाइराखिएको अवस्थामा करिब ३०० ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।  

प्लास्टिकमा प्याक गरिएको अवस्थामा भेटिएको उक्त लागुऔषधसँगै उनको साथबाट एउटा मोबाइल फोन पनि बरामद गरिएको छ ।

प्रहरीले पक्राउ परेका अहमदलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको जनाएको छ । अहिले बरामद गरिएको लागुऔषधको प्रकृति, सञ्जाल र सीमापार कारोबारसँगको सम्भावित सम्बन्धबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

बाँके नेपाल–भारत सीमा नजिकको संवेदनशील क्षेत्र मानिँदै आएको छ । पछिल्ला वर्षहरूमा यस क्षेत्रमा लागुऔषध ओसारपसार र कारोबारका गतिविधि बढ्दै गएको प्रहरीले जनाएको छ । यस्तै गतिविधि नियन्त्रणका लागि नियमित सूचनाका आधारमा निगरानी, विशेष अनुसन्धान र संयुक्त अपरेसन हुँदै आएको बताइन्छ । प्रहरीका अनुसार सीमावर्ती नाकाका रूपमा रहँदै आएको नेपालगञ्ज क्षेत्र हुँदै ठूलो परिमाणमा लागुऔषध भित्रिने प्रयत्न भइरहँदा त्यसलाई निस्तेज पार्न थप कडाइ गरिएको छ ।

प्रहरीले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई पनि लागुऔषध कारोबारबारे सचेत रहन र शंकास्पद गतिविधि देखिएमा सूचना दिन आग्रह गरेको छ । यसअघि पनि विभिन्न समयमा नेपालगञ्ज र आसपासका क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषध बरामद हुँदै आएका छन् । यस घटनालाई प्रहरीले महत्वपूर्ण सफलता मानेको छ । पक्राउ परेका अहमदमाथि लागुऔषधसम्बन्धी कानुनको दफाबमोजिम मुद्दा दर्ता गरी कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित: १७ पुस २०८२ १६:२४ बिहीबार