२१ पुस २०८२ सोमबार
image/svg+xml
अपराध

अस्पतालबाटै भागे थुनुवा

उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल लगिएका एक थुनुवा अस्पतालकै परिसरबाट फरार भएका छन् । लागुऔषध सेवनसम्बन्धी मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेकै अवस्थामा स्वास्थ्य समस्या देखिएपछि अस्पताल पुर्‍याइएका ती थुनुवा उपचारकै बीचमा भागेका हुन् ।  

प्रहरीका अनुसार वर्ष ३२ का अनिल कुमार यादव बिरामी भएपछि उनलाई उपचारका लागि भेरी अस्पताल, नेपालगन्ज लगिएको थियो । अस्पतालमै भर्ना गरी उपचार भइरहेको बेला उनले अस्पतालको सुरक्षाबाट जुक्ति मिलाएर निस्किएर फरार भएको जानकारी भएको प्रहरीले जनाएको छ ।  

यादव भारतको बहराइच जिल्ला घर भएका नागरिक हुन् । उनलाई २०८२ पुस ७ गते पक्राउ गरी नियन्त्रणमा लिइएको थियो । उनीमाथि लागुऔषध सेवनसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको अवस्थामा म्याद थप गरी प्रहरीले हिरासतमा राखेको थियो । हिरासत अवधिकै दौरान स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि अस्पताल लगिएको र अस्पतालको बेडमै भर्ना गरेर उपचार भइरहेको अवस्थामा उनी भागेको प्रारम्भिक जानकारी प्रहरीले सार्वजनिक गरेको छ ।  

घटनापछि जिल्ला प्रहरी कार्यालय बाँकेले व्यापक खोजी जारी राखेको छ । प्रहरी नायब उपरीक्षकको कमाण्डमा ३५ जनाको विशेष टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

थुनुवा फरार भएपछि प्रहरी प्रशासनमा मात्रै होइन, अस्पताल सुरक्षाप्रति पनि प्रश्न उठ्न थालेका छन् । अस्पताल जस्तो भीडभाडपूर्ण स्थानमा प्रहरी निगरानी रहे पनि थुनुवा भाग्न सफल हुनु सुरक्षामा लापरबाहीको संकेत भएको स्थानीयहरूले टिप्पणी गरेका छन् । यद्यपि यसबारे औपचारिक रूपमा केही नबोले पनि प्रहरीले आन्तरिक समीक्षा भइरहेको जनाएको छ । अस्पताल प्रशासनले पनि घटनाबारे आवश्यक समन्वय गरी सहयोग गरिरहेको बताइएको छ । फरार थुनुवालाई चाँडै नियन्त्रणमा लिने विश्वास व्यक्त गर्दै प्रहरीले सर्वसाधारणलाई समेत सहयोगका लागि अनुरोध गरेको छ । कुनै जानकारी भए नजिकको प्रहरी एकाइलाई खबर गरिदिन आग्रह गरिएको छ । अहिले घटना सम्बन्धी थप अनुसन्धानका साथै फरार थुनुवाको खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ ।

प्रकाशित: १७ पुस २०८२ १६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App