ताप्लेजुङ प्रहरीले फुङलिङस्थित एक ज्वेलर्सबाट हराएको २० तोला चाँदीसहित एक शंकास्पद व्यक्तिलाई एक घण्टा भित्रै नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
फुङलिङस्थित अनमोल ज्वेलर्सबाट हराएको १८ तोलाको चन्द्रहार र थप दुई तोला चाँदी गरी कुल २० तोला चाँदीसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमका अनुसार अनुसन्धानका क्रममा फुङलिङ नगरपालिका–२ का २२ वर्षीय डेनिस गुरुङलाई चन्द्रहारसहित नियन्त्रणमा लिइएको छ।
फुङलिङ नगरपालिका–२ घर भई वीरेन्द्रचोकमा अमृतकुमार विश्वकर्माको नाममा रहेको अनमोल ज्वेलर्समा आइतवार साँझ साढे ५ बजे कोही नभएको समयमा चोरी भएको थियो। पसलमा चन्द्रहार नभएपछि सञ्चालकले तत्कालै प्रहरीमा खबर गरेका थिए।
तत्कालै पुगेको प्रहरी टोलीले सिसिटिभी फुटेज हेरेर अनुसन्धान सुरु गरेको थियो। सोही आधारमा चाँदीसहित गुरुङलाई घटना भएको एक घण्टा भित्रै पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ।
प्रकाशित: १२ माघ २०८२ १६:५३ सोमबार





