३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
अपराध

मध्यरातमा क्यासिनोमा छापा: १९ नेपाली पक्राउ, नगद र क्वाइन बरामद

भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोबाट म्यानेजरसहित १९ जना नेपाली पक्राउ परेका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको गौतमबुद्ध इन्टरनेसनल होटलभित्र सञ्चालित क्यासिनोमा नेपाली नागरिक कानूनविपरीत सहभागी भएको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको क्यासिनोमा चेकजाँच गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए।

मंगलबार राति गरिएको कारबाहीमा जुवा खेलाउने ४ जना र खेल्ने १५ जना गरी १९ जनालाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट ९५ हजार ५ सय रुपैयाँ नगद, १७ थान मोबाइल र २०० थान क्यासिनो क्वाइन बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये १५ जना रुपन्देहीका छन् भने काठमाडौँ, ललितपुर, गुल्मी र पर्साका एक–एक जना रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

प्रकाशित: २३ वैशाख २०८३ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App