नेपाली नागरिकलाई भारत जान अन्य देशझैँ श्रम स्वीकृति लिनु पर्दैन । खुला सीमाका कारण बर्सेनी हजारौँ नेपाली औपचारिक प्रक्रिया बिना काम खोज्दै भारत पुग्ने गरेका छन् । यो सहजताले पछिल्लो समय नेपालीले थाहै नपाइ आफ्नो अंग गुमाउन थालेका छन् । पछिल्लो समय काम लगाइदिने प्रलोभन देखाएर नेपालीलाई अंग तस्करीको जालमा पार्ने गिरोह सक्रिय बन्दै गएको छ।
‘भारतमा राम्रो काम पाइन्छ, होटेलमा काम लगाइदिन्छु, राम्रो तलब हुन्छ’ भन्ने आश्वासनमा धेरै नेपाली सीमा पार गरेर जाने गरेका छन् । तर त्यही सपनाको आडमा केही दलाल र तस्कर समूहले गरिब, अशिक्षित र आर्थिक सङ्कटमा परेका व्यक्तिलाई निशाना बनाउँदै उनीहरूको अंग झिक्ने आपराधिक कार्यमा संलग्न हुने गर्छन् ।
आर्थिक अभाव, अशिक्षा र पारिवारिक बिछोडको पीडामा रहेका सिन्धुलीका एक व्यक्ति अन्ततः मानव तस्करीको जालमा परे । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनलाई रोजगारको प्रलोभन देखाएर भारत पुर्याइएको थियो । त्यहाँ पुगे लगतै विभिन्न कारणहरू देखाएर गैर कानुनी रूपमा उनको मृर्गौला झिकिएको छ । अहिले उनले दोषीलाई कारबाही र क्षतिपूर्ति दिलाइदिन माग गर्दै मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका छन् ।
आफ्नो बाल्यकालको अवस्था स्मरण गर्दै उनले भने, ‘घरको आर्थिक अवस्थाका कारण सानैमा पढाइ छाडेर खेतीपाती र ज्यामी काम गर्दै आएँ । पछि मेरो पारिवारिक जीवन पनि अस्थिर रह्यो । तीन पटक विवाह गरे पनि तीनै पत्नीले छोडेर गए । साना सन्तानको जिम्मेवारी बोकेर बसे ।’ सन्तान भएपछि उनीहरूको लागि जस्तो काम गर्न पनि तयार हुन मन लाग्ने उनले ब्युरोलाई बताए ।
उनका अनुसार रोजगारीको खोजीमा २०८१ साल फागुनमा गाउँबाट काठमाडौं आएको थिए । ललितपुरस्थित सुनाकोठीमा ठेकेदारले बनाएको टिनको टहरामा बस्दै ज्यामी काम गर्न थाले । उक्त काम सकिएपछि नयाँ कामको खोजीमा धेरै भौतारीएको उनी बताउँछन् ।
२०८२ साल जेठमा काम खोज्दै रत्नपार्क हुँदै कोटेश्वर पुगेका उनले सुजन गिरी नाम बताउने एक व्यक्तिसँग भेट भएको बताए । ‘मैले काम खोजिदिनु भन्दा उसले मेरो घरपरिवारको अवस्था सोध्यो र भारतको होटेलमा काम लगाइदिन्छु, मासिक १० देखि २० हजार भारतीय रुपैयाँसम्म तलब हुन्छ भन्यो,’ सुजनको भनाई उद्धृत गर्दै उनले भने ।
उनीहरू दुईको कुराकानी भएको केही बेरमै सुजनले दिलबहादुर तामाङ नामका अर्का व्यक्तिलाई पनि बोलायो । त्यसपछि ती तीनै जना ट्याक्सी चढेर कलंकी पुगे । कलंकीको एक होटेलमा मदिरा सेवन गर्दै कामबारेका ठूला ठूला कुरा हुन थाले ।
परिवारबाट विचलित भएर हिँडेका सिन्धुलीका ती पुरुषलाई नाइट बसमा चढाएर भैरहवा हुँदै सुनौली सीमा नाका पुर्याइयो । भारतमा मृर्गौला बेचेर फर्किएका पीडितका अनुसार यात्रा भरि पटक–पटक मदिरा खुवाइयो । ‘मलाई धेरै रक्सी खुवाए, त्यसपछि कहाँ के हुँदैछ भन्ने राम्रोसँग थाहा भएन,’ उनले भने, ‘यति मात्रै थाहा थियो कि मलाई यिनीहरूले भारतमा राम्रो काम लगाइदिन्छु भनिरहे।’
सुनौली सीमा पार गर्दा भारतीय सुरक्षाकर्मीले सोधपुछ गरे पनि सुजन गिरीले कुनै परिचयपत्र देखाउँदै आफूहरू भारतमा होटेलमा काम गर्न जाने बताएका थिए । त्यसपछि बिना अवरोध भारत प्रवेश गराइयो । त्यहाँबाट अर्को सानो गाडीमा राखेर आफूलाई भारतको चण्डीगढ पुर्याएको पीडित व्यक्तिले बताए ।
उनका अनुसार चण्डीगढ पुगेपछि मलाई एउटा अपार्टमेन्टको चौथो तलाको फ्ल्याटमा राखियो । ‘त्यहाँ पुगेपछि मैले फेरी नयाँ अनुहारका समीर र राकेश नामक व्यक्तिलाई देखेँ । भोलिपल्ट एउटा क्लिनिकमा लगेर रक्त समूह, पिसाब, एक्स–रे लगायतका स्वास्थ्य परीक्षण गराए’, उनले भातरमा भएको गतिविधिको बेलिविस्तार लगाए । ‘मैले किन यहाँ ल्याएको भनेर सोध्दा शरीरको चेकजाँच मात्रै गर्ने भनेका थिए,’ पीडितले ब्युरोसँग भने ।
त्यसपछि करिब एक महिना फ्ल्याटमै राखियो । खाना आफैँ पकाएर खानुपर्ने थियो । राशन भने सुजन गिरीले ल्याइदिने गरेको उनी बताउँछन् । अन्य कोठामा समेत धेरै नेपाली राखिएको र तिनको निगरानी समीर र राकेशले गर्ने गरेको उनले उल्लेख गरेका छन् ।
०८२ साउन ८ गते सुजनले आफूलाई अचानक भोलिपल्ट मिर्गौला निकाल्ने र त्यसबापत ६ लाख रुपैयाँ दिने बताउँदा उनी छक्क परेको बताउँछन् । त्यस लगतै उनले अस्वीकार पनि गरे । ‘म त यहाँ होटेलमा काम गर्न आएको हो,’ मिर्गौला बेच्दिन भन्दै उनी झर्किए, ‘मलाई फकाएर मिर्गौला बेच्न ल्याएको यहाँ । तिमीहरूको काम नै यही हो ।’
यति भन्दै गर्दा आफूसँग उल्टै पैसा मागेको भारत पुर्याउने गिरोह समूहको भनाई उद्धृत गर्दै पीडित व्यक्तिले भने, ‘तिमीलाई यहाँसम्म ल्याउन धेरै पैसा खर्च भएको छ, अब दिन्न भन्न पाउँदैनौ । कि त हामीले खर्च गरेको सबै पैसा फिर्ता दिनुपर्यो ।’ गिरोहको समूहले मिर्गौला बेच्न धम्क्याएको ब्युरोमा उजुरी दिन आएका पीडितले बयानमा भनेका छन् ।
त्यसपछि श्याम भण्डारी, समीर नेपाली, राकेश नेपाली, सुजन गिरी र कुमार भन्ने राजकुमार परियारसहितको समूहले उनलाई जबरजस्ती गाडीमा राखेर चण्डीगढकै एक क्लिनिकमा लगेको उनको आरोप छ । साथै त्यहाँ बेडमा सुताएर औषधि दिएपछि उनी बेहोस भएका थिए ।
‘२/३ घण्टापछि होस आउँदा मेरो पेटको बायाँ भाग बेसरी दुखिरहेको थियो । मेरो बायाँ मिर्गौला निकालिएको रहेछ,’ पीडितले उजुरी दर्ता गर्नेक्रममा बताए ।
एक दिन क्लिनिकमा राखेपछि उनलाई पुनः फ्ल्याटमा ल्याइयो । तीन दिन आराम गराएपछि सुजन गिरीले बाटो खर्च भन्दै १० हजार रुपैयाँ दिएर बाँकी पैसा नेपाल पुगेपछि दिने भन्दै फर्काइदिएको उनको आरोप छ । तर नेपाल आएपछि कुनै रकम नदिइएको पीडितको दुखेसो छ ।
उनका अनुसार उनीसँगै भारतबाट फर्किएका दिलबहादुर तामाङ, वीरबहादुर राई, सविन राई र उमेश नेपाली समेतका अन्य व्यक्तिहरूको पनि मिर्गौला निकालिएको आशङ्का छ । नेपाल फर्किएसँगै घाउको पीडा असह्य भएपछि उनी सिन्धुली पुगे । स्थानीय मेडिकलमा ड्रेसिङ र उपचार गराउँदा शरीरमा समस्या देखिन थालेपछि परिवारलाई सम्पूर्ण घटना उनले सुनाए । त्यसपछि मात्रै आफू मानव तस्करीको सञ्जालमा परेको थाहा पाएको उनले बताएका छन् ।
‘कामको लोभ देखाएका ती तस्करहरूले मेरो नाजुक अवस्थाको फाइदा उठाई ललाई–फकाई, प्रलोभन र डर त्रासमा पारी गैर कानुनी रूपमा मेरो मिर्गौला निकाले,’ जीवनको तितो यथार्थ पीडितले बताए ।
यी सबै गिरोहहरूले सङ्गठित रूपमा नेपाल तथा भारतमा नेटवर्क सञ्चालन गरी आर्थिक अभाव, पारिवारिक समस्याले थिचिएका नेपालीहरूलाई सजिलै प्रलोभनमा पारेर मिर्गौला निकाल्ने कार्य गरेको पीडितले आरोप लगाएका छन् । उनले ब्युरोमा जाहेरी दिँदै मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र सङ्गठित अपराध निवारण ऐन, २०७० बमोजिम कारबाही गर्न तथा आफूलाई क्षतिपूर्ति दिलाइ दिन माग समेत गरेका छन् ।
ब्युरोका प्रहरी एसएसपी कृष्ण पङ्गेनीका अनुसार दुःखी र गरिबलाई नै झुक्काएर ललाईफाकाईमा पारेर मृर्गौला बेच्ने गरेको घटनाहरू धेरै छन् । विशेष गरेर नुवाकोट, काभ्रे र सिन्धुपाल्चोकका धेरैको मृर्गौला बेच्ने गरेको उनी बताउँछन् ।
‘मृर्गौला बेचेर पूरा पैसा नपाए वा स्वास्थ्य अवस्था गम्भीर भए मात्रै ब्युरोमा उजुरी आउने हो,’ ब्युरोका एसएसपी पङ्गेनीले भने, ‘आर्थिक अवस्था कमजोर भएका परिवार नै यस्ता घटनामा मुछिएका हुन्छन् ।’
प्रकाशित: ६ जेष्ठ २०८३ १६:३१ बुधबार





