कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्दै अमेरिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
बुधबार भएको खेलमा स्कटल्याण्डले दिएको १७० रनको सामान्य लक्ष्य अमेरिकाले २७.१ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो। यो जितसँगै अमेरिका २७ खेलबाट ३८ अंक जोड्दै तालिकाको पहिलो स्थानमा पुगेको हो।
समान ३८ अंक भए पनि ३२ खेल खेलेको स्कटल्याण्ड नेट रनरेटका आधारमा दोस्रो स्थानमा खुम्चिएको छ। अमेरिकाको नेट रनरेट ०.८८८ रहेको छ भने स्कटल्याण्डको ०.६३१ छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड ४३.३ ओभरमा १६९ रनमा अलआउट भएको थियो। स्कटल्याण्डका लागि मार्क वाटले ८५ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ६६ रनको योगदान दिए।
त्यस्तै, ब्रान्डन म्याकमुलनले ३२, म्याथ्यु क्रसले २० र जर्ज मुन्सेले १९ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।
स्कटल्याण्डलाई सस्तैमा समेट्न अमेरिकाका रुशिल उगरकरले घातक बलिङ गर्दै ८.३ ओभरमा ४८ रन खर्चेर ४ विकेट लिए। सौरभ नेत्रवाल्करले ९ ओभरमा २ मेडन राख्दै १९ रन दिएर ३ महत्वपूर्ण विकेट लिए।
सुभम रञ्जानेले २ र हरमीत सिंहले १ विकेट हात पारे।
१७० रनको लक्ष्य पछ्याएको अमेरिकाका लागि स्मित पटेल र सायन जहाँगिरले समान ३७–३७ रनको योगदान दिए। कप्तान साईतेजा मुक्कामाल्लाले ३५, मिलिन्द कुमारले अविजित २४ र सुभम रञ्जानेले ११ रन बनाए।
अमेरिकाले १३७ बल बाँकी छँदै सहज जित सुनिश्चित गरेको हो। स्कटल्याण्डका तर्फबाट ज्याक जार्विस, ओलिभर डेभिडसन र माइकल लीस्कले १–१ विकेट लिए।
अंक तालिकामा ओमान ३१ अंकसहित तेस्रो र नेदरल्याण्ड्स २८ अंकसहित चौथो स्थानमा छन्। नेपाल २७ खेलबाट २२ अंक जोड्दै पाँचौँ स्थानमा छ।
अमेरिकाको अबको खेल नेपालसँग हुनेछ।
प्रकाशित: ६ जेष्ठ २०८३ १६:३१ बुधबार





