जारी सिजनको इंग्लिस प्रिमियर लिगमा मंगलबार राति उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले एफसी बर्नमाउथसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार राति सवा १२ बजे बर्नमाउथको गृहमैदान भिटालिटी स्टेडियममा सुरु हुनेछ।
आफ्नो दुई खेल बाँकी रहँदा सिटी ७७ अंकमा दोस्रो स्थानमा रहेको छ। उपाधि होड कायम राख्न सिटीलाई बर्नमाउथविरुद्धको खेलमा जितको विकल्प छैन। बराबरीको नजिताले मात्रै पनि शीर्ष स्थानको आर्सनलले यो सिजनको उपाधि चुम्नेछ। ३७ खेलबाट आर्सनलको ८२ अंक छ।
बाँकी दुवै खेलमा जित निकाल्ने हो र आर्सनल आफ्नो अन्तिम खेलमा कम्तीमा बराबरीमा रोकिने हो भने मात्र सिटीले उपाधि उचाल्नेछ। सिटीको एकमात्र बराबरीले पनि आर्सनलले अहिलेकै अंकमा उपाधि जित्नेछ।
जारी सिजनको आफ्नो अन्तिम खेलमा आर्सनलले क्रिष्टल प्यालेससँग र म्यानचेस्टर सिटीले एष्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणका अन्तिम खेलहरु सबै २४ मे मा हुनेछन्।
प्रिमियर लिगमा आजै राति चेल्सीले टटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ। चेल्सीविरुद्धको खेलमा पराजित भए टटनह्याम रेलिगेशनको खतरामा पर्नेछ। ३८ अंक भएको ऊ १८ औं स्थानको वेस्टहाम युनाइटेडभन्दा मात्र २ अंकले अघि छ।
प्रकाशित: ५ जेष्ठ २०८३ १५:५८ मंगलबार



-600x400.jpg)

