स्पेनिस स्टार रोड्री म्यानचेस्टर सिटी छाडेर स्वदेश फर्किने तयारीमा रहे पनि रियल मड्रिड जाने पक्षमा नरहेको बताइएको छ।
उनी बार्सिलोनाबाट आउने प्रस्तावप्रति भने सकारात्मक रहेको स्रोतले उद्धृत गरेको छ। रोड्रीले बार्सिलोनालाई म्यानचेस्टर सिटीसँग आफ्नो सम्भावित स्थानान्तरणबारे वार्ता अघि बढाउन अनुमति दिएका छन्। यससँगै बार्सिलोना उनलाई भित्र्याउने दौडमा अगाडि आएको छ।
रियल मड्रिडले पनि गत महिनादेखि रोड्रीका प्रतिनिधिसँग छलफल गर्दै आएको थियो। तर, वार्तामा अपेक्षित प्रगति नभएपछि रोड्रीको प्राथमिकता बार्सिलोनातर्फ देखिएको हो।
रोड्री बार्सिलोनाको खेलशैलीबाट प्रभावित रहेको र प्रशिक्षक हान्सी फ्लिकसँग समेत कुराकानी गरिसकेको बताइएको छ। फ्लिकले आफ्नो योजनामा रोड्रीको भूमिका र उनलाई कसरी प्रयोग गर्ने भन्नेबारे समेत जानकारी गराएका छन्।
अर्कोतर्फ, रोड्री रियल मड्रिड जान इच्छुक नरहेको स्रोतको दाबी छ। रियलका प्रशिक्षक जोसे माउरिन्हो सुरुदेखि नै उनको अनुबन्धमा पूर्ण रूपमा विश्वस्त नरहेको रोड्रीको पक्षले महसुस गरेको बताइएको छ।
यद्यपि, रियल मड्रिडले रोड्रीलाई अनुबन्ध गर्ने सम्भावना पूर्ण रूपमा त्यागेको छैन। क्लबले सम्झौता आफ्नो पक्षमा पार्न अन्तिम प्रयास गर्ने तयारी गरेको छ।
रोड्रीले म्यानचेस्टर सिटीसँग सम्झौता नवीकरण गर्नुभन्दा यसै गर्मीमा स्पेन फर्कने इच्छा देखाएका छन्। अब उनको आगामी गन्तव्य बार्सिलोना बन्ने सम्भावना बढेको छ।
प्रकाशित: २२ श्रावण २०८३ ११:५० शुक्रबार





