रणवीर कपूर अभिनित चलचित्र ‘रामायण’ले बक्स अफिसमा कमाइको नयाँ कीर्तिमान बनाएको छ। प्रदर्शनको २१ दिनमै चलचित्रले विश्वभरबाट १ हजार ७५५ करोड ६० लाख भारतीय रुपैयाँ कमाउँदै सर्वाधिक कमाउने भारतीय चलचित्रको सूचीमा चौथो स्थान सुरक्षित गरेको छ।
यससँगै चलचित्रले अल्लू अर्जुन अभिनित ‘पुष्पा २’को विश्वव्यापी कमाइलाई समेत उछिनेको छ। ‘पुष्पा २’ले कुल १ हजार ७४२ करोड १० लाख भारु कमाएको थियो।
‘रामायण’को भारतमा कुल खुद कमाइ ९८२ करोड ५५ लाख भारु पुगेको छ भने भारतभित्रको कुल ग्रस कमाइ १ हजार १७३ करोड ६० लाख भारु पुगेको छ। त्यस्तै, विदेशबाट मात्रै ५८२ करोड भारु सङ्कलन भएको छ।
चलचित्रले प्रदर्शनको २१औँ दिनमा भारतमा ९ करोड ६० लाख भारु खुद कमाइ गरेको छ। यसअघि लगातार २० दिनसम्म दैनिक १० करोड भारुभन्दा बढी कमाइ गर्दै आएको चलचित्रको कमाइ पहिलोपटक १० करोडभन्दा तल झरेको हो।
अब ‘रामायण’को नजर सर्वाधिक कमाउने भारतीय चलचित्रको सूचीमा तेस्रो स्थानमा रहेको ‘बाहुबली २’तर्फ छ। उक्त चलचित्रको विश्वव्यापी कमाइ १ हजार ७८८ करोड ६ लाख भारु छ। त्यसलाई उछिन्न ‘रामायण’ले थप ३२ करोड ४६ लाख भारु कमाउनुपर्नेछ।
यस सूचीमा ‘धुरन्धर २’को कमाइ १ हजार ८१३ करोड ३९ लाख भारु रहेको छ भने शीर्ष स्थानमा ‘दंगल’ कायम छ। ‘दंगल’ले विश्वभर २ हजार करोड भारुभन्दा बढी कारोबार गरेको थियो।
नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण’मा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता र यश रावणको भूमिकामा छन्। चलचित्रका निर्माता नमित मल्होत्रा हुन्।
प्रकाशित: १० मंसिर २०८३ १४:२९ बिहीबार




-600x400.jpg)
