डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि क्यामरा र खोरको व्यवस्थापन गरी अनुगमन थालेको छ।
मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको अनुगमन गर्न क्यामेरा जडान तथा नियन्त्रणमा लिन खोरको व्यवस्था गरिएको वन अधिकृत सुदीप हमालले जानकारी दिए। उनका अनुसार भरतपुर महानगरपालिका–१५ को अविनास पोल्ट्री परिसरमा ‘ट्यापिङ’का लागि क्यामरासहित खोर राखिएको छ। त्यस नजिकै बाँसझ्याङमा अर्काे क्यामेरा जडान गरिएको छ।
सोही क्रममा पोल्ट्री परिसरमा खोरमा परेको चितुवाको बच्चा उद्धार गरी सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगिएको छ। डिभिजन कार्यालयका अनुसार, बच्चा खोरमा परेपछि क्यामरा ट्यापिङमा एक माउ र अर्काे बच्चासँगै बाहिर बसेको देखिएको थियो। त्यस ठाउँको झाडी फाँडेपछि माउ र बच्चा कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसर क्षेत्रमा गएको अनुमान छ।
पछिल्लो समय क्याम्पस परिसरमा पनि खोर र क्यामराको व्यवस्थापन गरी नियमित अनुगमन गरिएको छ। भरतपुर महानगरपालिका–११ स्थित आँपटारीमा विद्युत् ‘स्टेशन’ क्षेत्रमा केही दिन पहिले कर्मचारीले बाघ आएको सूचना दिएपछि क्यामरा जडान गरिएको छ। बाघले स्थानीयको बाख्रा खाएको थियो।
बाघले बाख्रा खाएको सूचनापछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित सुरक्षा निकाय र वन कार्यालयका कर्मचारीकोे टोलीले त्यस क्षेत्रको स्थलगत अनुगमन गरेको थियो। टोलीले गरेको अनुगमनपछि कार्यालयको प्रवेशद्वार र भित्र क्यामरा जडान गरिएको छ। कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले तीन वटै ठाउँमा क्यामरा जडान र खोर राख्ने काम भएको बताए।
त्यस क्षेत्रमा बाघ वा चितुवा खोरमा परेमा तत्काल उद्धार गरिने व्यवस्था मिलाइएको छ। यसैबीच, शारिरीक रुपमा कमजोर चितुवा र बाघले बच्चा हुर्काउने समयमा जङ्गल बाहिर जाने विज्ञहरुको भनाइ छ। जङ्गलभित्र अन्य जनावरबाट बच्चालाई आक्रमण हुन सक्ने भयले उनीहरु बाहिर गएको हुन सक्ने अनुमान छ। त्यस्ता हिंस्रक जनावरलाई जङ्गलभित्र सिकार गर्न गाह्रो भएपछि मानव बस्ती नजिक आई घरपालुवा जनावरको सिकार गर्ने गरेका घटना पाइएको छ।
प्रकाशित: २२ श्रावण २०८३ ११:५७ शुक्रबार





