१० मंसिर २०८३ बिहीबार
image/svg+xml
अर्थ

खरको छानो हटाउँदै राप्तीसोनारी

वर्षा याम लाग्नासाथ छानो चुहिएर रातभर जाग्राम बस्नुपर्ने र गर्मीमा हावाहुरीसँगै आगलागीको त्रासमा बाँच्नुपर्ने राप्तीसोनारीका विपन्न परिवारको पीडा अब कम हुने भएको छ। वर्षौंदेखि जीर्ण खर र परालको छानोमुनि कष्टकर जीवन बिताइरहेका स्थानीय बासिन्दालाई सुरक्षित आवासमा सार्न गाउँपालिकाले जस्तापाता उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो।

चालु आर्थिक वर्ष २०८३/८४ को कार्यक्रमअन्तर्गत खर तथा फुसको छानो विस्थापन गर्न गाउँपालिकाले योग्य नागरिकबाट आवेदन मागेको छ। क्षेत्रफलका दृष्टिले देशकै ठूलो मानिने र नौवटा वडामा फैलिएको राप्तीसोनारीमा अझै पनि दलित, जनजाति, विपन्न तथा सीमान्तकृत समुदायका थुप्रै घरपरिवार खरकै छानोमुनि छन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार कुल ६६ हजार ४४५ जनसंख्या र १४ हजार ९४६ घरधुरी रहेको यस पालिकामा सबै नागरिकलाई सुरक्षित छानोमुनि ल्याउने अभियानलाई तीव्र पारिएको छ।

विशेषगरी राप्ती नदी तटीय क्षेत्र र वनजंगल छेउछाउका बस्तीमा बर्सेनि आगलागी र हावाहुरीले खरका घरमा ठूलो क्षति पुर्‍याउने भएकाले सुरक्षित छानो यहाँको मुख्य आवश्यकता बनेको छ।

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले पालिकाभित्र कोही पनि नागरिक असुरक्षित खरको छानोमुनि बस्न नपरोस् भनेर यो कार्यक्रमलाई प्राथमिकता दिइएको बताए। नागरिकको सुरक्षित आवासको हक सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भएको जनाउँदै उनले वास्तविक विपन्न परिवार नछुटून् भनेर पर्याप्तसमय (२१ दिन) दिइएको जनाए।

पौडेलले विगतका वर्षहरूमा पनि धेरै घरधुरीलाई खरको छानोमुक्त बनाइसकिएको स्मरण गर्दै बाँकी रहेका परिवारलाई चालु आर्थिक वर्षभित्रै समेट्ने लक्ष्य लिइएको बताए। छनोट प्रक्रियामा कुनै राजनीतिक पूर्वाग्रह वा भनसुन नचल्ने र वास्तविक पीडितले नै सुविधा पाउने प्रतिबद्धतासमेत उनले जनाए।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज भट्टराईले छनोट प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी, निष्पक्ष र मापदण्डमा आधारित बनाइने बताए। निवेदन संकलन भइसकेपछि प्राविधिक तथा प्रशासनिक टोली प्रत्येक निवेदकको घरदैलोमै पुगेर स्थलगत अनुगमन र प्रमाणीकरण गर्ने उनले जनाए।

भट्टराईले कागजी प्रमाण मात्र नभई परिवारको वास्तविक आर्थिक अवस्था र घरको भौतिक संरचना हेरेर मात्र लाभग्राहीको अन्तिम सूची निकालिने स्पष्ट पारे। उनले तोकिएको २१ दिनको म्यादभित्र आवश्यक कागजातसहित गाउँपालिकाको कार्यालयमा सम्पर्क राख्न सबै लक्षित वर्गलाई आग्रह गरे। म्याद सकिएपछि आउने निवेदनमाथि कुनै कारबाही नहुने भएकाले समयमै सचेत रहनसमेत उनले सुझाव दिए।

सूचना अनुसार तोकिएको योग्यता पुगेका नागरिकले कार्यालय समयभित्र गाउँपालिकामा निवेदन दर्ता गराउनुपर्नेछ। ग्रामीण भेगका कतिपय विपन्न नागरिकलाई सूचनाको जानकारी नपुग्न सक्ने अवस्थालाई ध्यानमा राख्दै वडा अध्यक्ष, टोल विकास संस्था र स्थानीय अगुवामार्फत बस्ती–बस्तीमा खबर पुर्‍याउने तयारी गरिएको छ।

गाउँपालिकाको यो निर्णयलाई स्थानीय बासिन्दाले स्वागत गरेका छन्। आर्थिक अभावका कारण वर्षौंदेखि छानो फेर्न नसकेका परिवारका लागि यो कार्यक्रम ठूलो सहारा बन्ने उनीहरूको विश्वास छ। यद्यपि विगतमा कतिपय वास्तविक विपन्न परिवार कागजी प्रक्रिया झन्झटिलो हुँदा वा समयमै जानकारी नपाउँदा सुविधाबाट बञ्चित हुनुपरेको गुनासो आउने गरेकाले यसपटक वडा तहबाटै सहजीकरण गरिदिन स्थानीयले माग गरेका छन्।

राप्तीसोनारीले आगामी दिनमा ‘खरको छानोमुक्त पालिका’ घोषणा गर्ने दीर्घकालीन लक्ष्यसहित बजेट विनियोजन गर्दै आएको छ। मंसिर ३ गते प्रकाशित सूचनाअनुसार आगामी मंसिर २३ गतेसम्म निवेदन दिन सकिनेछ। म्याद सकिएलगत्तै छनोट प्रक्रिया टुंग्याएर हिउँदयाममै लाभग्राहीको घरमा जस्तापाता जडान गरिसक्ने योजना गाउँपालिकाको छ।

प्रकाशित: १० मंसिर २०८३ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App