यमनी सेनाका अनुसार हुथी विद्रोहीले आत्मघाती ड्रोन र ब्यालिस्टिक मिसाइल प्रयोग गरेर आक्रमण गर्दा कम्तीमा ३० सैनिकको ज्यान गएको छ।
हुथी प्रवक्ता याह्या सारीले यसअघि नै मारिब र हद्रामौतमा रहेका यमनका आपतकालीन बल चौकीहरूमा ‘ठूलो संख्यामा ब्यालिस्टिक मिसाइल र ड्रोन’ प्रयोग गरेर आक्रमण रिएको बताएका थिए। उनले आक्रमणबाट ठूलो संख्यामा जनधनको क्षति भएको दाबी गरेका थिए।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी युद्ध ‘धेरै चाँडै’ समाप्त हुने अपेक्षा व्यक्त गरेका छन्। ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले यो द्वन्द्व धेरै लामो समयसम्म नचल्ने बताएका हुन्। ट्रम्पले अमेरिकासँग हतियारको कुनै अभाव नरहेको र आवश्यकताअनुसार नयाँ हतियारको निरन्तर विकास भइरहेको स्पष्ट पारे।
अमेरिका, इरान र ओमानले होर्मुजको जलमार्ग पुनः खोल्नका लागि अस्थायी सम्झौताको मस्यौदा तयार गर्ने अन्तिम चरणमा पुगेका छन्। ट्रम्पका अनुसार इरान आफैंले वार्ता सुरु गरेको र दुई देशबिचको वार्तामा राम्रो प्रगति भएको छ।
यसबिच, इरानको संसदले होर्मुज जलमार्गमा नियन्त्रण कडा पार्ने मस्यौदा विधेयकमाथि छलफल सुरु गरेको छ।
प्रस्तावित कानुनअनुसार अमेरिका र इजरायलजस्ता देशलाई उक्त जलमार्ग पार गर्न प्रतिबन्ध लगाउने र उल्लंघन गर्नेमाथि भारी जरिवाना गर्ने उल्लेख छ। तनावका कारण होर्मुज जलमार्गबाट दैनिक गुज्रने जहाजको संख्या घटेर न्यूनतममा पुगेको छ। विश्वका प्रमुख ढुवानी संस्थाले होर्मुज जलमार्गबाट गुज्रने जहाजमा कुनै पनि प्रकारको अतिरिक्त टोल वा शुल्क नलगाउन संयुक्त राष्ट्रसंघ र आईएमओसँग अपील गरेका छन्।
इरानविरुद्धको युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता रोकिएपछि इरानी अधिकारीहरूले तेहरानसहित देशभर आन्तरिक सुरक्षा नियन्त्रण तीव्र बनाएका छन्। इरानी गुप्तचर मन्त्रालयले किरमान प्रान्तबाट इजरायलको मोसादसँग मिलेर काम गरेको आरोपमा २१ जनालाई पक्राउ गरेको घोषणा छ।
साथै, तनावका कारण तेलको मूल्यमा लगातार वृद्धि भइरहेको छ। ब्रेन्ट कच्चा तेलको भाउ १.२ प्रतिशतले बढेर प्रतिब्यारेल ८३.४५ डलर पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य ७८.०६ डलर पुगेको छ। एजेन्सी
प्रकाशित: २२ श्रावण २०८३ ११:३७ शुक्रबार





