सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेहरूमा लहान नगरपालिका– २२ घर भई हाल १३ नं. वडामा घर बनाएर बस्दै आएका करिब ४९ वर्षीय लाल मोहम्मद अन्सारी, भारतको बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत खजौली थाना ग्राम पञ्चायत भकुवा वडा नं. १३ घर भई हाल लहान २२ मा बस्दै आएका करिब ४२ वर्षीय मोहम्मद गुलाब अन्सारीलगायत रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूबाट दुई थान कटुवा पेस्तोल, चार राउन्ड गोली, करिब ३० ग्राम खैरो हिरोइनजस्तो देखिने लागुऔषध र मोबाइल बरामद गरिएको सिरहा प्रहरीका सूचना अधिकृत डिएसपी रमेशबहादुर पालले जनाएका छन्।
डकैतीमा संलग्न लहान– ५ बस्ने करिब २८ वर्षीय मो. एकवाल मियाँ र धनुषाको विदेह नगरपालिका– ४, ठाडीझिझा टोल बस्ने करिब ३२ वर्षीय अमरप्रकाश पासवानलाई पनि पक्राउ गरिएको डिएसपी पालले जानकारी दिएका छन्।
प्रहरीले खोजतलासको क्रममा ६ फागुनमा पक्राउ गरिएका लाल मोहम्मदको घर कोठाबाट प्लास्टिकबाहेक ३० ग्राम गिलो अवस्थाको खैरो हिरोइनजस्तो पदार्थ, घरको भर्याङमा जस्तापाताको छानाभित्र कपडामा बेरेर लुकाइएको एमएमकेएफ लेखिएको दुई राउन्ड गोली र काठको बिँड भएको एक थान कटुवा पेस्तोलसमेत बरामद भएको उनले बताए।
उनका अनुसार मोहम्मद गुलाबको घर कम्पाउन्डको जस्तापाताको बारभित्र कपडामा बेरेर लुकाइएको एमएमकेएफ लेखिएको दुई राउन्ड गोली र काठको बिँड भएको एक थान कटुवा पेस्तोलसमेत बरामद भएको छ।
पक्राउ परेकाहरूविरुद्ध डाँका, ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना र लागुऔषध (खैरो हिरोइन) मुद्दा शीर्षकमा सिरहा जिल्ला अदालतबाट पक्राउ परेकै दिनदेखि लागू हुने गरी पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पीडितका छोरा मुकेशकुमार सिंहले ७ फागुनमा जिल्ला प्रहरी कार्यालयमा पक्राउ परेकाहरूसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।
पक्राउ परेकामाथि डाँका, ज्यान मार्ने उद्योग, हातहतियार तथा लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको पालले जानकारी दिए।
गत मङ्सिर ३ गते हतियारधारी समूहले स्थानीय भोला महतोको घरमा प्रवेश गरी करिब ६ लाख रुपैयाँ बराबरको सुनचाँदी, मोबाइल र ड्रोन क्यामेरा लुटपाट गरेको थियो।
घटनाका क्रममा गोली चल्दा दुईजना गम्भीर घाइते भएका थिए। प्रहरीले घटनामा प्रयोग भएको अटोरिक्सा नियन्त्रणमा लिएको छ भने अन्य फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ११ फाल्गुन २०८२ ०७:२८ सोमबार





