२४ पुस २०८२ बिहीबार
image/svg+xml
अपराध

सुमो गाडीमा ‘च्याम्बर’ बनाएर लागुऔषध तस्करी

मकवानपुर प्रहरीले लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

भारतीय सुमो गाडीको बडीभित्र विशेष ‘च्याम्बर’ बनाएर लुकाई छिपाई ल्याइएको झण्डै ६ हजार एम्पुल प्रतिबन्धित लागुऔषधसहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा चालक भारत, उत्तर प्रदेश बहराइच जिल्लाका ३५ वर्षीय किस्मत अली र सोही स्थानका २८ वर्षीय शाहरुख अली रहेका छन्।

शनिबार बिहान सवा ९ बजे हेटौँडा-१५ स्थित रातोमाटे चेकपोइन्टमा रक्सौलबाट काठमाडौंतर्फ जाँदै BR O1 PB 1802 नम्बरको भारतीय सुमोलाई चेकजाँक गर्ने क्रममा   प्रतिबन्धित लागुऔषध फेला परेको छ।

उनीहरुको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले गाडीको खानतलासी गर्दा पछाडिपट्टिको दुवै साइडको बडीभित्र चलाखीपूर्वक लुकाइएको अवस्थामा लागुऔषध बरामद भएको थियो।

प्रहरीका अनुसार, गाडीको बडीभित्र कालो प्लास्टिकमा पोको पारिएका ३९ वटा पोका फेला परेका थिए। जसमा फेनेरगन, नुर्फिन र डाइजेपाम क्रमशः १९५०-१९५० एम्पुल गरी कुल ५,८५० एम्पुल र २४० क्याप्सुल ट्रामाडोल बरामद भएको छ।

प्रहरीले लागुऔषध र तस्करीमा प्रयोग भएको सुमो गाडी बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरुलाई मकवानपुर जिल्ला अदालतबाट लागुऔषध ओसारपसार मुद्दामा म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित: ८ भाद्र २०८२ १९:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App