बुटवलबाट नक्कली नोटको कारोबारमा संलग्न एक जना भारतीयसहित ६ जना पक्राउ परेका छन्।
बुटवल उपमहानगरपालिका ६ स्थित नेपलगञ्ज रोडमा रहेको एक पसलबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका ११ बस्ने ३६ वर्षीय गंगाकुमारी पूर्वछाने, कपिलवस्तुको बाणगंगा नगरपालिका १ का सञ्जय थारु, कास्कीको पोखरा महानगरपालिकाका १ का किरणकृष्ण तिवारी,दोलखाको सैलुङ गाउँपालिका ४ का ३८ वर्षका पासाङ तामाङ, भक्तपुरको चाँगुनारायण नगरपालिका १ का ४१ वर्षका रामचन्द्र खत्री र भारतको पश्चिम बङ्गाल सिलिगुडी भक्तिनगर थाना निवासी ४९ वर्षका वासुमित्र आनन्द रहेका छन्।
उनीहरूको साथबाट ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट, नोट छाप्न प्रयोग भएको मेसिन तथा अन्य विभिन्न सामानहरू बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले संकास्पदहरुलाई केही दिन देखि निगरानीमा राखेको राखेको थियो।
ती संकास्पदहरुको पसल, घर तथा कोठा खानतलासी गर्दा एक हजार दरका ६२२ थान नक्कली नेपाली नोट बरामद भएको डिएसपी श्रीवास्तवले बताए।
नक्कली नोट छाप्न प्रयोग हुने मेसिन,फोटोकपी मेसिन,प्रिन्टर,लेमिनेशन मेसिन,नक्कली नोट छाप्न प्रयोग हुने कागज एक कार्टुन, प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन, विभिन्न खाले रसायन, एकथान ल्यापटप र ६ थान मोबाइल प्रहरीले बरामद गरेको छ।
नक्कली नोट छाप्न ल्याइएको कागज,प्लास्टिक पेपर लगायतका सामाग्रीको गुणस्तर राम्रो देखिएकाले नक्कली नोट झट्ट पहिचान गर्न मुस्किल हुने खालको रहेको डिएसपी श्रीवास्तले बताए।
प्रहरीले पक्राउ परेकाहरूलाई मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडी बढाएको छ।
प्रकाशित: ३१ असार २०८३ १७:२२ बुधबार





