कपिलवस्तुमा भारतबाट तस्करी गरी भित्र्याइएको १८१ बोरा भारतीय युरिया मल एक प्लाइउड उद्योगबाट बरामद गरिएको छ।
शिवराज नगरपालिका–७ रुद्रपुरस्थित जय अम्बे प्लाइउड इन्डस्ट्रिज प्रालिको हाताभित्र लुकाएर राखिएको अवस्थामा उक्त मल फेला परेको हो।
विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त गस्ती टोलीले उद्योगमा छापा मारेर मल नियन्त्रणमा लिएको हो।
बरामद गरिएको मल आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको कार्यालयका सूचना अधिकारी मयंककुमार कर्णले जानकारी दिए।
सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) तुला चौधरीका अनुसार अवैध रूपमा मल भण्डारण गरिएको सूचना पाएपछि उद्योगमा छापा मारिएको थियो।
युरिया मललाई प्लाइउड उद्योगमा गम (लाहा) का रूपमा प्रयोग गरिने भएकाले तस्करहरूले यसलाई उद्योगसम्म पुर्याउने गरेका छन्।
स्रोतका अनुसार चन्द्रौटादेखि कृष्णनगरसम्म सञ्चालित ८ वटा प्लाइउड उद्योगमा तस्करीको मल खपत हुने गरेको छ।
यसअघि गत कात्तिक २५ गते पनि यशोधरा गाउँपालिकाको मर्यादपुर नाकाबाट २ सय १८ बोरा भारतीय युरिया मल बरामद गरिएको थियो।
स्थानीय प्रशासनले किसानहरूलाई सानो परिमाणमा मल ल्याउन दिने सहुलियतको फाइदा उठाउँदै तस्करहरूले संगठित रूपमै मल भित्र्याउने गरेको स्थानीय कृषकहरूको गुनासो छ।
सुरक्षा निकायले कहिलेकाहीँ मात्र यस्ता सामग्री बरामद गर्ने गरेको गुनासो पनि स्थानीयले गर्दै आएका छन्।
प्रकाशित: २९ मंसिर २०८२ १८:०० सोमबार




-600x400.jpg)
