जिल्ला प्रहरी कार्यालय कलैया, बाराले पिकअप भ्यानमा ढुवानी गरिरहेको अवस्थामा शनिबार ठूलो परिमाणमा लागूऔषध गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएको मानिस, पिअकप भ्यान र बरामद गाँजालाई शनिबार पत्रकार सम्मेलन गरेर बारा प्रहरीले सार्वजनिक समेत गरेको छ।
हेटौंडाबाट प्रसौनीको गण्डकतर्फ आउँदै गरेको प्रदेश ०३-०१-०२४ च ४६३० नम्बरको सेतो रंगको पिकअप भ्यानबाट दुई क्विन्टल १२ किलो लागूऔषध गाँजासहित ४ जनालाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा गाडी चालक जिल्ला मकवानडुर थाहा नगरपालिका-४ तालुङका रबि कार्की, टिसटुङका बिरबहादुर गोले, मकवानपुरको हेटौंडा उपमहानगरपालिका १४ बस्ने उतरपानीका साजन मुक्तान, धादिङ थाक्रे गाँउपालिका ७ आपसी चौकका महेश तामाङ रहेको बाराका प्रहरी प्रमुख सन्तोष तामाङले बताएका छन्।
पिकअप गाडीमा ठूलो परिमाणमा लागूऔषध गाँजा आउँदै गरेको सूचना पाएको उनले बताए। सूचना आएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक खेमप्रसाद नेपालको कमाण्डमा इलाका प्रहरी कार्यालय सिमरा र प्रसौनी बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बारा परवानिपुर गाउँपालिका ५ बहुअरीस्थित गण्डक नहरको सडक खण्डबाट त्यसलाई नियन्त्रणमा लिएको एसपी तामाङले बताए।
प्रकाशित: १४ असार २०८२ १४:२० शनिबार





