५ माघ २०८२ सोमबार
image/svg+xml
अपराध

सात सय फरार प्रतिवादी पक्राउको सूचीमा

जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दामा फरार रहेका सात सय जना फरार प्रतिवादी अझै पक्राउको सूचीमा रहेको प्रहरीले जनाएको छ। फरार हुँदै आएकाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँ मुद्दा शाखाका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।

उनका अनुसार चालु आर्थिक वर्षका साउनदेखि वैशाख महिनासम्मको दश महिनाको अवधिमा फरार आठ सय २१ जनामध्ये १२१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा महिला सोह्र र पुरुष एक सय पाँच रहेका छन्। पक्राउ परेका फरार प्रतिवादीबाट १७ वर्ष तीन महिना १९ दिन कैद भुक्तान भएको छ।  

'प्रहरीले फरार प्रतिवादी पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएकोमा अदालतबाट कैद भुक्तानका लागि आदेश भएको हो,' उनले भने, 'अन्य फरार प्रतिवादीको खोजी कार्य तीव्र रूपमा भइरहेको छ।' पक्राउ गरिएका प्रतिवादीबाट रु ३४ लाख ८९ हजार छ सय अठ्ठाइस राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ।

त्यसैगरी अवैध नदीजन्य उत्खननमा संलग्न ८० सवारीसाधान नियन्त्रणमा लिएर कारबाहीका लागि सम्बन्धित पालिकामा पठाइएको छ। ती सवारी साधानले स्थानीय तहमा रु दश लाख ७२ हजार जरिवाना बुझाएर छुटेका छन्। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ६६ दशमलव ७८ क्युफिट अवैध सालको काठ बरामद गरी कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाएको छ।

जबरजस्ती करणीका १६, कर्तव्य ज्यानका नौ र मानव बेचबिखन तथा ओसारपसार उद्योगका एक गरी २६ वटा जघन्य प्रकृतिका मुद्दा दर्ता भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। जुवातासका १२ वटा मुद्दा दर्ता भएकोमा एक महिलासहित एक सय तीन जनालाई पक्राउ गरेको थियो। उक्त जुवाखालबाट दश लाख तीन हजार चार सय पाँच रुपैयाँ बरामद भएको प्रहरी उपरीक्षक शाहीले बताए। रासस

प्रकाशित: १९ जेष्ठ २०८२ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App