बाँकेको नेपालगन्जस्थित जमुनाह चेकपोष्टबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको नियमित चेकजाँचका क्रममा कोहलपुर नगरपालिका–१० का ३७ वर्षीय ठाकुरप्रसाद खत्री र कोहलपुर–२ का २२ वर्षीय अमृत चन्द लागूऔषधसहित पक्राउ परेका हुन्।
खत्रीको साथबाट ९ सय १० मिलिग्राम र चन्दको साथबाट २ ग्राम ६ सय ८० मिलिग्राम लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता दिपक पातलीले जानकारी दिए। पक्राउ परेका दुवैजना सवार स्कुटरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसारको जोखिम बढिरहेकाले निगरानी कडा पारिएको छ।
प्रकाशित: १५ जेष्ठ २०८२ ०९:४८ बिहीबार





