चैत १५ गते राजावादी प्रदर्शनका क्रममा घटेको तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकीलको कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) अपिल बोहराले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमा पठाएको जानकारी दिए।
प्रहरीले आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग गरी चार वटा कसुरमा मुद्दा चलाउन सरकारी वकीललाई राय पनि दिएको छ। अनुसन्धान प्रतिवेदनमा प्रहरीले एक सयभन्दा बढीलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ।
प्रहरी परिसर काठमाडौंले घटना भएकै दिन (१५ चैत)देखि नै अनुसन्धान थालेको थियो। प्रहरीले उक्त घटनामा संलग्न १७० भन्दा धेरैलाई पक्राउ पनि गरेको थियो। जसमध्ये ५३ अहिले प्रहरी हिरासतमै छन्। बाँकीलाई हाजिरी जमानीमा छाडिएको छ।
राजावादीहरूले चैत १५ गते शान्तिपूर्ण प्रदर्शन गर्ने भनेकोमा आन्दोलन हिंसात्मक बनाएका थिए। जहाँ एक पत्रकारसहित दुई जनाको मृत्यु हुँदा दर्जनौँ प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए। घटनामा व्यापारिक तथा औद्योगिक घर, पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको थियो भने कोटेश्वरको भाटभटेनी सुपर मार्केटमा लुटपाट भएको थियो।
राजावादीहरूको त्यो प्रदर्शनबारे सत्तापक्ष र विपक्षीले विपरीत धारणा राखेका छन् ।
सत्ता पक्षीय सांसदहरूले तीनकुने घटना घटाउनेलाई कानुनी कठघरामा उभ्याइनुपर्ने बताएका थिए । लोकतान्त्रिक पक्षधरले राजावादीहरूले गत चैत १५ गते हिंसात्मक घटना घटाएर देशलाई अराजकता निम्त्याउन गरेको प्रयासलाई निस्तेज पार्न खुट्टा नकमाउन आग्रह गरेका थिए।
राजावादीले फेरी जेठ १५ गते अर्को प्रदर्शनको तयारी गरेका छन्। सरकारले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई नै हेरेर अहिले प्राथमिकताका साथ सतर्कता राख्ने जनाएको छ।
प्रकाशित: ९ जेष्ठ २०८२ १६:१६ शुक्रबार





