महानगरीय प्रहरी बृत जगाती भक्तपुरले आइतबार ट्रकमा भन्सार छली चोरी पैठारी गरी ल्याएका ७२ लाख बराबरको सामान बरामद गरेको छ ।
जगातीस्थित प्रहरीको चेकप्वाइन्टमा साँगाबाट काठमाडौंतर्फ आईरहेको सेतो रंगको टाटा कम्पनीको बा.४ ख. ७६० नम्बरको ट्रकमा परालको भुस मुनिपट्टी भन्सार चोरी पैठारी गरी ल्याएको सामान बरामद भएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरले कुर्ता सुरुवाल, धाराको पार्टपुर्जा लगायतका अन्दाजी मूल्य ७२ लाख रुपैयाँ बराबरको सामग्रीहरु बरामद गरेको जनाएको हो ।
परिसरका सूचना अधिकृत ढुण्डीराज नेउपानेले सवारी साधन र चालक दोलखा कालिन्चोक गाँउपालिका वडा नं। २ बस्ने वर्ष ४७ को लक्ष्मण थामीलाई नियन्त्रणमा लिइएको जनाए ।
बरामद सामानमा कुर्ता सुरुवाल ३ हजार ८८७ थान, पाइन्टको कपडा ३२ रोल, सर्ट ३५६ पिस, सर्टको कपडा २८० रोल, ब्लाउज १ हजार ८७५ थान, पर्दाको कपडा ९९ रोल, साडी १५९ थान, र धाराको पार्टपुर्जा ३९८ थान रहेको परिसरले जनाएको छ ।
प्रकाशित: २८ वैशाख २०८२ १९:२१ आइतबार