उदयपुरका २ सहित ११ जना विभिन्न किसिममा प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका छन । उदयपुर, मोरङ, झापा र धनकुटाबाट ९ जनालाई ९७ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर र प्रतिवन्धित औषधीसहित तथा २ जनालाई गाँजा ओसारपसार आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बेलटारका २७ वर्षीय पेशल बस्नेत र २३ वर्षीय गगन खतिवडा १ ग्राम ४८ मिलिग्राम ब्राउनसुगर र १५ थान नाईट्राभेट–१० नामक ट्याबेलटसहित पक्राउ परेका हुन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको टोलीले मङ्गलबार साँझ बेलटार बजारबाट नियन्त्रणमा लिएको हो ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मङ्गलबारै लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको टोलीले भारतको पश्चिम बङ्गालका ३२ वर्षीय साम्सद खान र २७ वर्षीय साहेब अलीलाई ब्राउनसुगर ८७ ग्राम ३ सय ४० मिलिग्रामसहित पक्राउ गरेको छ । नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँचको क्रममा झापाको मेचीनगर नगरपालिका-६ बाट उनीहरु पक्राउ परेका हुन् ।
त्यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले विराटनगर महानगरपालिका १५ बाट चेकजाँचको क्रममा भारतको विहार अररिया नरपथगञ्जका २२ वर्षीय मोहमद नहिमलाई पक्राउ गरेको छ । उनको साथबाट ब्राउनसुगर १ ग्राम ७ मिलिग्राम बरामद भएको छ । मोरङकै सुन्दरहरैचा गाउँपालिका ५ का १९ वर्षीय कबिन राई पनि ४ ग्राम ३२ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
त्यस्तै इलाका प्रहरी कार्यालय पथरीको टोलीले पथरी शनिश्चरे नगरपालिका १० का १८ वर्षीय रविन थाङ्देन र २१ वर्षीय अमृत तामाङलाई नियनन्त्रणमा लिएको छ । उनीहरुको साथबाट प्रतिबन्धित औषधी २ सय ३८ ट्याब्लेट बरामद भएको छ । इलाका प्रहरी कार्यालय पकलीले पनि २६ वर्षीय मोहम्मद सादिक मिँया र ३५ वर्षीय मोहम्मद समिर मिँयालाई ब्राउनसुगर ४ ग्राम ६ सय २० मिलिग्रामसहित मङ्गलबारै पक्राउ गरेको छ ।
उता धनकुटाको साँगुरीगढी गाउँपालिका ६ बाट इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले चेकजाँचको क्रममा यात्रुवाहक बसमा धनकुटाको सहिदभूमि गाउाँपालिका ७ का ३२ वर्षीय चिरन्जिवी राईलाई १५ किलो लागुऔषध गाँजासहित पक्राउ गरेको छ । पक्राउ सबैलाई सम्बन्धित प्रहरी कार्यालयमा राखेर अनुसन्धान अघि बढाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित: १३ चैत्र २०८१ १६:४४ बुधबार